आज थप १२ सय २८ सङ्क्रमित थपिए

काठमाडौँ । आज काठमाडौं उपत्यका भित्र चार सय ४५ जनासहित थप एक हजार दुई सय २८ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १३ हजार चार सय १३ वटा नमुनाको रियल टाइम पिसिआर परीक्षण गर्दा तीन सय ९४ जना महिला र आठ सय ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँका तीन सय ५७, ललितपुरका ४६ र भक्तपुरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

आज देश भरमा गरी १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितहरू मध्ये १० हजार छ सय ७१ जना संस्थागत आइसोलेसनमा र सात हजार सात सय ४२ जना होम आइसोलेसनमा रहेका छन् ।

सक्रिय सङ्क्रमित हरू मध्ये कडा लक्षण देखिएका एक सय ४१ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यसै गरी आज थप नौ सय १७ जना संक्रमण मुक्त भएसँगै हालसम्म २४ हजार २ सय सात जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हालसम्म ५६ प्रतिशत सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप छ जनाको मृत्यु भएपछि कोरोना संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या दुई सय ५७ पुगेको छ ।

आज चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका एक/एक जना महिला तथा सिन्धुपाल्चोक र रुपन्देहीका एक/एक जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले केही अस्पतालमा बिरामीलाई भर्ना नलिएको तथा परीक्षणका लागि स्वव सङ्कलन नै नगरिएका व्यक्तिको समेत रिपोर्टमा नाम समावेश भएको भन्न समाचारका सम्बन्धमा मन्त्रालयले आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले कोरोना भाइरसको असर एवं पिसिआर परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाउँदै फैलाइएको भ्रममा नपर्न र जनस्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न आग्रह गर्नुभयो ।

Shares

Be the first to comment on "आज थप १२ सय २८ सङ्क्रमित थपिए"

Leave a comment

Your email address will not be published.


*