फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने

चरिकोट (दीस)ः आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म “तेस्रो बृहत् दोलखा महोत्सव २०८१” हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा सो महोत्सव हुन लागेको हो । संघले सोमबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार महोत्सव दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा हुन लागेको हो। “दोलखाको पहिचान कृषि, पर्यटन र पानी, स्थानीय उत्पादन र उद्यमशीलतामा लगानी” भन्ने नाराका साथ यो महोत्सव हुन लागेको हो ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठका अनुसार बृहत् दोलखा महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवद्र्धन गरिनेछ । महोत्सवका स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघ–संस्था, उद्योगी व्यवसायीका उत्पादनलगायत प्रदर्शनीमा राखिने उहाँले जानकारी दिनु भयो । दोलखाका विभिन्न जातजाति, भाषाभाषीका कला–संस्कृति समेटिएको प्रस्तुति र झाँकी प्रदर्शन गरिने उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा दोलखाका पर्यटकीय स्थलको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने उहाँको भनाइ छ । महोत्सवमा कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरू र विद्यालयस्तरीय प्रतियोगिताहरू पनि सञ्चालन गरिनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न प्रस्तुती दिने संघले जनाएको छ ।
महोत्सवमा महोत्सव स्थलदेखि भ्यूटावर हुदैँ देउरालीसम्म घोडचढी, विभिन्न प्रकारका मनोरञ्जनात्मक खेल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, लोकगीत प्रतियोगिता, जातीय भेषभूषाको प्रदर्शनी, उत्कृष्ट कृषक तथा उद्यमी सम्मान, लगायतका कार्यक्रम राखिएको दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेतीको भनाइ छ ।
दोलखालाई महत्वपूर्ण आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यका रूपमा चिनाउन महोत्सव गर्न लागिएको उप्रेतीले बताउनुभयो । महोत्सवमा विशेष गरी दोलखाका स्थानीय उत्पादनका स्टल राख्न विशेष प्रोत्साहन दिइने आयोजकले बताएको छ । महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नबाली र जलस्रोतमा अब्बल जिल्लाका रूपमा उभ्याउँदै आर्थिक विकासमा फड्को मार्ने अपेक्षा आयोजकले व्यक्त गरेको छ । महोत्सव सञ्चालन गर्न ८८ लाखभन्दा बढी लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।

Shares

Be the first to comment on "फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत् दोलखा महोत्सव २०८१ हुने"

Leave a comment

Your email address will not be published.


*