आकर्षक बन्यो स्टोन पार्क

इश्वर विश्वकर्मा
चरिकोट, मंसिर २०
पर्यटकीय स्थलले धनी जिरी नगरपालिकामा आउने पर्यटकहरु स्टोन पार्क पुगेपछि घर फर्किनै चाहन्दैनन् । किनकी यो पार्क अरु भन्दा फरक र विषेश किसिमको छ । वडा नम्बर १ श्यामामा अवस्थित यो पार्कको प्रमुख विषेशता मैदानमा रहेका ठूला–ठूला ढुङ्गाहरु हो । त्यही ढुँगाको प्रमुख माध्यम बनाई पर्यटक लोभ्याउन अन्य संरचना निर्माण गरी आकर्षक बनाएर स्टोन पार्क भनी नामाकरण गरिएको हो । अन्य पूर्वाधार निर्माण गरी व्यवस्थित गर्नुका साथै व्यापक प्रचारप्रसारपछि स्टोनपार्कको मज्जा लुट्न पर्यटकको आगमनमा बृद्धि भएको छ । स्टोनपार्क आन्तरिक तथा बाह्य पर्यटकको लागि सेल्फी खिच्ने, टिकटक भिडियो बनाउने, पौडी खेली मनोरञ्जन लिने तथा मन बहलाउने थलो बनेको छ । यसले गर्दा पार्कमा गरिएको लगानी र प्रयास सफलीभूत भएको वडाध्यक्ष लाक्पा शेर्पाले बताउनुभयो । ढुङ्गामाथी नै गुरू रिम्पोछे, शिवको मूर्ति प्रतिस्थापन गरिएपछि पार्कमा आएका हिन्दु र बौद्ध धर्ममा आस्था राख्ने पर्यटकहरु त झन प्रफुलित हुने गरेको उहाँले सुनाउनुभयो । यसले धार्मिक सद्भाव कायम भएको उहाँले बताउनुभयो । संघीय र प्रदेश सरकारको सहयोगमा निर्माण गरिएका आकर्षक प्रतीक्षालय, खानेपानी, कटेज, शौचालय, हेलिप्याड सहितको सुविधाले पर्यटकलाई पार्कको मज्जा लिन सहज भएको छ । पार्कबाट प्रष्ट अवलोकन गर्न सकिने हिमश्रृङखला तथा पहाडको सुन्दर दृष्यले पर्यटकहरु मोहित हुने गरेको स्थानीय एसिक नेपालीले बताउनुभयो । घेराबारले सुरक्षित पारिएको यो पार्कमा प्रवेश गर्नको लागि कुनै शुल्क तिर्नपर्दैन । दोलखाको सदरमुकाम चरीकोटबाट जिरी बजार, जिरीबाट माली, यलुङहुँदै स्टोन पार्कसम्म पुग्न सकिन्छ भने, रामेछापको ठोसे, शिवालय हुँदै पनि जान सकिन्छ ।

तस्बिरः एसिक नेपाली

Shares

Be the first to comment on "आकर्षक बन्यो स्टोन पार्क"

Leave a comment

Your email address will not be published.


*