चरिकोट,(दीस) –चरिकोटदेखि जिरीसम्म ५५ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । लामोसाँघु–जिरी–चरिकोट आयोजना अन्तर्गत चरिकोटदेखि जिरीसम्म सडक कालोपत्रको जिम्मेवारी पाएको उडहिल–लामा जेभीले तीन वर्षमा काम सक्काएको हो । डीबीएसटी प्रविधिमा आधारित कालोपत्रे गरिएपछि सडकको रुप फेरिएको निर्माण कम्पनीका कन्स्ट्रक्सन म्यानेजर रवीन्द्र श्रेष्ठले बताउनुभयो । सडक चौडा पारी कालोपत्रे सकेर जिम्मेवारी अनुसारको काम अन्तिम चरणमा पु¥याइएको छ । उहाँले भन्नुभयो “बाँकी काम भनेको ट्राफिक चिन्ह र सडकको दायाँबायाँ टल्कने बत्तिको हो । त्यो पनि सकिन लागेको छ । त्यो सकिन लागेकोले फर्किने तयारीमा छौँ ।” घुमाउरो र जोखिम पूर्ण ठाउँमा रहेको सडकको दायाँबाँया यात्रा सुरक्षालाई ख्याल गरी बार पनि लगाइएको छ । गत वर्ष गएको वर्षको असारमा काम पूरा गर्न लक्ष्य थियो ।
तर कोरोना महामारी र लकडाउनले काम रोकिएपछि ९ महिना म्याद थपिएको थियो सो समयावधिमा काम पूरा भएको कन्स्ट्रक्सन म्यानेजर श्रेष्ठले बताउनुभयो । स्वीस सरकारको सहयोगमा ४३ वर्ष अघि निर्माण भएको यो सडक अहिले भारतीय एक्जिम बैँकको ऋण सहयोगमा कालोपत्रे भएको हो । सडक कालोपत्रे भएसँगै सवारीसाधनको आवातजावत सहज भएको छ । जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाका नागरिक र बाह्य तथा आन्तरिक पर्यटकलाई कालोपत्रे सडकले सहजता मिलेको छ । कालोपत्रे पूर्वको सडक धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा यात्रा कष्टपूर्ण हुन्थ्यो ।
Be the first to comment on "आकर्षक बन्यो चरिकोट जिरी सडक"