चरिकोटः भीमेश्वर नगरपालिका वडा नम्बर ६, झुलेमा निर्मित अलपत्र भवनमा सशस्त्र प्रहरी बल बसेको छ । सांसद विकास कोष र भीमेश्वर नगरपालिकाले निर्माण गरेको भवन ४ वर्षदेखि अलपत्र परेको भवनमा सशस्त्र प्रहरी बल बसेको हो । भवन अलपत्र हुँदा कतिपय संरचना समेत टुटफूट भएका थिए ।
६ वर्षदेखि साँघुरो ठाउँमा बसिरहेको सशस्त्र प्रहरीले सार्वजनिक जग्गामा बनेको भवन सहितको जग्गा आफ्नो स्वामित्वमा ल्याउने प्रक्रियासहित बेस क्याम्प नै खडा गरेको छ । भीमेश्वर नगरपालिका च्यानडाँडाबाट कालिञ्चोक जाने सडकको तल्लोपटि व्यवस्थित घेराबार र गेट सहित एक भवन बनेको थियो जुन भवन सरकारी हो कि व्यक्तिगत हो भन्ने बारे स्थानीयहरु समेत अन्यौलमा थिए ।
सशस्त्र प्रहरी बल १८ नं. गुल्मका सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक द्वारिका केसीले एक महिनादेखि अलपत्र भवन मर्मत गरेर सशस्त्र प्रहरीको टोली त्यहाँ बसेको जानकारी दिनुभयो । ‘वर्षात्को समयमा बलको टोलीले बाढी पहिरो र डुबान हुन सक्ने भएकाले तयारी अवस्थामा बस्नुपर्छ’ केसीले भन्नु भयो ‘सबै तयारीपछि दसैंसम्म जिल्लाको टोली सबै झुलेमै सर्छ ।’
१७ रोपनी क्षेत्रफल जग्गा समेत रहेको सो भवन घेराबार सहितको रहेको छ । जग्गा सहितको संरचना भीमेश्वर नगरपालिकाको कार्यपालिकाको सिफारिस, सम्बन्धित वडा र राजनीतिक दल, नागरिक समाज सहितको सहमतिमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले सो जग्गा प्राप्तीका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सो जग्गा आधिकारीक रुपमा सशस्त्र प्रहरी बलको नाममा आउनेछ ।
भवन निर्माण गर्नका लागि ६ वर्ष अघि सांसद पार्वत गुरुङको पालामा सांसद विकास कोषको एक करोड विनियोजन गरेपछि भीमेश्वर नगरपालिकाकै छनौटमा परेको जग्गामा भवन बनेको हो । भवनका लागि आर्थिक वर्ष २०७५÷७६ मा एक करोड विनियोजन भएपछि सुरु भयो । त्यसपछि सांसद विकास कोष र भीमेश्वर नगरपालिकाले समेत २५ लाख समेत लगानी गरेर एक करोड ५१ लाख छ हजार २५० रुपैयाँको लागतमा निर्माण गरिएको हो । भवन दुई तल्लाको रहेको छ ।
हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको नामबाट इञ्जिनियरिङ, अध्ययन अनुसन्धानका लागि भन्दै बनेको भवन त्यसपछि अलपत्र परेको थियो ।सशस्त्र प्रहरीले लामो समयदेखि जग्गाको खोजी गरिरहेकाले आफ्नै स्वामित्वको सार्वजनिक जग्गामा बनेको भवन दिन सिफारिस गरिएको भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले बताउनु भयो । सशस्त्र प्रहरी बल झुलेमा बसेपछि मकैबारी, चोथाङ, कालिञ्चोक देउरालीलगायतका क्षेत्रमा शान्ति सुरक्षा र विपद् प्रतिकार्यका लागि थप सहयोग पुग्ने स्थानीयहरुको आशा छ ।
Be the first to comment on "अलपत्र भवनमा सशस्त्र प्रहरी"