अब सफा चरिकोट, मेयर आफैं अभियानमा

चरिकोट, १४ माघ
दोलखा सदरमुकाम चरिकोटमा शुक्रबार बिहान स्थानीयसंगै भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी पनि सडकमा भेटिए । स्थानीयको पहलमा हरेक शुक्रबार चरिकोट बजार सफा गर्ने कार्यतालिका अनुसार स्थानीयहरु झाडु लिएर बजारमा निस्किएपछि मेयर केसी पनि बजार निस्केका हुन् ।
दुई घण्टा बजारबासीसगैं मिलेर बजारको मुख्य क्षेत्र सातदोबाटोदेखि पशुपतिडाँडासम्म स्थानीयसंग मिलेर सडक बढारेका उनले अस्तव्यस्त बजारलाई व्यवस्थापन गर्न नगरबासीसंग सुझाव लिए । सडक पेटी अतिक्रमण गरेर राखिएका सामान तत्काल हटाउन आग्रह गर्दै हिँडे ।
भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ मा पर्ने चरिकोटको मुख्य बजार क्षेत्र सातदोबाटो चोकदेखि पशुपति डाँडा क्षेत्र सम्मका स्थानियले दुई महिना देखि शुरु गरेको साप्ताहिक सामूहिक सरसफाई तथा बजार व्यवस्थापन अभियानले तिव्रता पाइ रहेको छ ।
शुक्रबारे बिहानी स्थानीयसंगै बिताएका मेयर केसीसंग ६ नम्बर वडाका अध्यक्ष नविन लामा पनि साथमै थिए । वडाध्यक्ष लामा शुक्रबार अपरान्हसम्म बस पार्क क्षेत्रमा सडक पेटी खाली गराउन पसल पसल पुग्दै थिए । दिउँसो नगरपालिकामा सडक क्षेत्र मापदण्डको छलफल सकेर वडाध्यक्ष लामा बसपार्कदेखि पाटी खोलासम्मका फुटपाथ खाली गराउन व्यस्त थिए ।
भरत केसी मेयर भएदेखि नै बजार क्षेत्र सरसफाइ कसरी गर्ने भन्ने चुनौती थियो । उनले विभिन्न पक्षसँग छलफल र राय सुझाव लिएर योजना बनाउँदै थिए । उनी सिक्किम विकासको मोडेल अध्ययनका लागि भ्रमणमा रहेको बेला स्थानीयहरुको सक्रियतामा बजार सरसफाइले संस्थागत रुप लियो । त्यसबाट हौसिएका मेयर यसलाई थप व्यवस्थित गर्न आफैं लागेका छन् ।

३ व्यक्तिबाट सुरु भएको अभियान
चरिकोट बजार क्षेत्रको सरसफाइका लागि चरिकोट बजारका ३ जनाले पछिल्लो अभियान सुरु गरेका हुन् । विगतमा सातदोबाटो क्षेत्रमा ऋषि न्यौपाने, कुमार कार्की, बीच बजारमा देवकी थापा लगायतले व्यक्तिगत रुपमा अभियान सुरु गरेका थिए । त्यस्तै दोलखा उद्योग वाणिज्य संघ, निम्फा लगायतले संस्थागत रुपमा सरसफाइ अभियान सुरु गरे तापनि यो नियमित हुन सकेको थिएन ।
पछिल्लो समय पत्रकार चिरञ्जीवि मास्के, रमेश खतिवडा र मिलीजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठले सुरु अभियान सुरु गरेका हुन् । सुरुवातमा चुनाव प्रचार प्रसारमा राजनैतिक दलले राखेको तुल व्यानर, झण्डा हटाउँदै, आफ्नो टोल सरसफाइबाट अभियान सुरु भएको हो ।
राजधानीबाट नजिक रहेका कारण चरिकोटमा हरेक शुक्रबार पर्यटकहरुको घुइँचो लाग्छ । यसलाई लक्षित गरेर स्थानियले हरेक शुक्रबार सामूहिक सरसफाई गर्ने अभियान चलाएका हुन् । सरसफाई अभियानलाई नगरको ३ नम्बर वडाका अध्यक्ष हरिशरण शिवाकोटी र ६ का अध्यक्ष लामाले संस्थागत गर्न शुरु गरे ।
उनीहरुकै पहलमा दुई साताअघि मुख्य बजार क्षेत्रको सातदोबाटो–पशुपतिडाँडा खण्डमा तिन ओटा टोल सुधार तथा सरसफाई समिति गठन भएको थियो। तीन ओटै सरसफाई समिति सहित वडाध्यक्षद्धय, नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत शंकर नेपाल, सरोकारवालाहरुको संयुक्त बैठकले बजार क्षेत्रमा प्रत्येक साताको शुक्रबार बिहान सामूहिक सरसफाई गर्नेदेखि बजार व्यवस्थापन गर्न सडक पेटीमा अतिक्रमण गरेर राखिएका सामानहरु हटाउनेदेखि बजार क्षेत्रमा ट्रिपर, मालबाहक गाडीलाई समय निर्धारण गर्ने लगायतका १३ बुंदे निर्णय गरेको थियो ।
यसअघि शनिबार गर्दै आएको सामुहिक सरसफाई नगरसंगको समन्वयपछि शुक्रबार गर्दै आएको भेटनरी चोक–कांग्रेस कार्यलय क्षेत्रको टोल सुधार समितिकी अध्यक्ष सविना मानन्धरले बताईन् । उनका अनुसार दैनिक रुपमा घर अगाडीको सडक क्षेत्र सम्मै सफा गर्ने र बजारलाई सफा राख्ने नियम समितिले बनाएको छ।
यस्तै यो मुख्यबजार क्षेत्रमा माटो बोकेर आउने ट्रिपरलाई प्रवेश निषेध गरिएको छ भने निर्माण सामाग्री बोक्ने ट्रिपर, ट्रक र मिनि ट्रकलाई बिहान ७ बजे देखि बेलुकी ७ बजेसम्म बजार क्षेत्र प्रवेशमा रोक लगाईएको छ । मालवाहक गाडीलाई भने बिहान ८ देखि मध्यान्ह १२ र दिउसो ३ बजेदेखि साँझ ६ बजे सम्म बजार क्षेत्र प्रवेशमा रोक लगाईएको सातदोबाटो भेटनरी चोक सुधार समितिका अध्यक्ष ऋषि न्यौपानेले बताए। यस्तै बजार क्षेत्रमा प्रेसर हर्न निषेध गरिएको छ ।
बजार क्षेत्रलाई सुन्दर, स्वच्छ, सफा र हराभरा बनाउने नगरको योजनालाई कार्यान्वयन गर्न स्थानीयसंग मिलेर काम गर्ने नगरपालिकाको उद्देश्य अनुसार टोल समिति गठन गरेर अभियान संस्थागत गरिएको ६ नम्बर वडाका अध्यक्ष लामाले बताए । भीमेश्वर नगरपालिकाले नगरपालिकाले ‘मेरो आगन सफा आँगन’ नारा ल्याएको उनले बताए ।

फोहोर व्यबस्थापन गर्न नगरपालिका नयाँ कानुन बनाउदै
भिमेश्वर नगरपालिकाले फोहोर व्यबस्थापनक कानुन उलंघन गर्नेलाई एक लाखसम्मको जरिवाना गर्न सक्ने कानुनको बिधेद्यक मस्यौदामा उल्लेख गरिएको छ । प्रस्ताबित बिधेद्यकमा नगरपालिकाले फोहोर मैला संङकलन केन्द्र तोक्ने जनाइएको छ । फोहौर मैला उठाउन सेवाशुल्क लिन प्रस्ताब बिधेयकले गरेको छ ।
नगरपालिकाले छुट्टै विषयगत छलफल गरेर तयार पोको विधेयकमाथि सरोकारवालाहरुको सुझाव लिइ सकेको छ । उक्त विधेक अब बस्ने नगर सभाले पारित गरेपछि कानुनको रुपमा लागू हुने भीमेश्वर नगरपालकालका प्रमुख प्रशासकीय अधिकृत शंकर नेपालले जानकारी दिए ।

Shares

Be the first to comment on "अब सफा चरिकोट, मेयर आफैं अभियानमा"

Leave a comment

Your email address will not be published.


*