अपर तामाकोसीको सेयर एकैदिन ६१ रुपैयाको फरक

दीक्षण समाचार
दोलखा, ६ माघ
अपर तामाकोशी जलविद्युत आयोजनाको शेयरमा चलखेल गर्नेहरु सक्रिय हुँदा आइतबारको शेयर बजार प्रभावित भएको छ । आइतबार एकैदिन सबैभन्दा बढेर सर्किट ब्रेक लागेको सेयरमा सोही कम्पनीमा पुनः घटेर सर्किट ब्रेक नै लाग्ने अवस्थामा पुग्यो । यस्तो घटना सेयर बजारमा विरलै पाइन्छ ।
आइतबार अपर तामाकोसीको सेयर ३११ बाट बढेर ३४२ रुपैंयासम्म कारोबार भयो । पछि घटेर २८१ रुपैंयासम्म झ¥यो । यसको लगातार १० प्रतिशतको दरले बढेर छोटो समयमै उच्च कारोबार हुने सूचीमा पर्न सफल कम्पनी एक हप्तामै ओरालो लाग्यो ।
गत सातादेखि मात्रै नेप्सेमा कारोबारमा आएको कम्पनीको शेयरमा पहिलो दिनदेखि नै चलखेलको क्रम सुरु गरिएको थियो । नेप्सेको कमजोर अनलाइन प्रणालीको फाइदा उठाएर बजारमा चलखेल गर्ने क्रम बढेको छ । यसबाट सामान्य लगानीकर्ताहरुको लगानी जोखिममा पर्ने देखिएको छ । करोडौ खर्चेर निमार्ण गरिएको नेप्सेको कमजोर अनलाइन प्रणालीले लगानीकर्ता बजारप्रति ढुक्क हुन नसकेको अवस्थामा त्यहि कमजोरीमा खेल्नेहरु बजारमा सक्रिय हुदा बजारमा झन जोखिम बढेको छ ।
यता अनलाइन कारोबार प्रणालीमा पटक पटक नयाँ समस्या आइरहदा नेप्सेले समस्या समाधानका लागि ठोस पहल गर्न सकेको छैन । एकै प्रकारका समस्याहरु पनि दोहोरीरहदा अनलाइनप्रति लगानीकर्ताको अविस्वास बढ्न थालेको छ ।
गत आइतबार पुस २९ गते तामोकोशीको नेप्सेमा पहिलो कारोबार भएको थियो । तामाकोशीको शेयरलाई नेप्सेले प्रतिशेयर न्युनतम ७४ रुपैयाँ ८९ पैसा देखि अधिकतम २२४ रुपैयाँ ६७ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो ।
पहिलो दिन नै कम्पनीको शेयर ओपनिङ्ग रेन्जको अधिकतम मूल्य २२४ रूपैयाँमा कारोबार भएको थियो । सो दिन कम्पनीको ५१ हजार ८७५ कित्ता शेयर एक हजार १९३ कारोबारबाट एक करोड १६ लाख २० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

पुष ३० गते सोमबार एकाएक तामाकोशीको शेयर मूल्य ५० प्रतिशतले बढाईयो र प्रतिकित्ता ३३६ रुपैयाँसम्म कारोबार भयो । स्टक एक्सचेञ्जमा कुनैपनि कम्पनीको शेयरमूल्य १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भएपनि नेप्सेको आधिकारिक वेवसाइटमा नै कम्पनीको शेयरमूल्य ५० प्रतिशतले बढेको देखिएको थियो । नेप्सेको अनलाइनले धोका दिएपनि ५० प्रतिशत मूल्य बढेकै अवस्थामा बजारमा शेयर किनबेचको काम जारी रहेको थियो । यो गलत हो भन्ने जान्दा जान्दै पनि कारोबार हुनुले बजारमा चलखेल गर्न चाहनेहरु सक्रिय रहेको पुष्टि गर्छ । तर पछि उक्त दिनको कारोबार नेप्सेले रद्ध गर्यो ।
त्यसपछिका दिनहरुमा अपर ताकोशीको शेयरमूल्य लगातार करिब दश प्रतिशतका दरले बढेर गत विहिबारसम्म ३११ रुपैयाँसम्म पुगेको थियो । गत साताभर तामोकोशीको जम्मा ३ करोड १५ लाख बराबरको शेयर किनबेच भएको थियो । साताभर एक लाख १६ हजार ७८० कित्ता शेयर किनबेच भएका थिए ।
यो साताको पहिलो दिन नै बजार खुल्नासाथ कम्पनीको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुग्यो । अघिल्लो साता दोस्रो बजारबाट शेयर उठाएकाहरुले नै सुरुवाती कारोबारमा कम्पनीको शेयर मूल्य झण्डै दश प्रतिशत बढेपछि बिक्रीमा सक्रिय भए । एक्कासी बिक्री चाप बढ्दा नेप्सेको अनलाइन प्रणालीले सहज कारोबार गर्न सकेन भने कतिपय ब्रोकर र अनलाइन लिएका लगानीकर्ताले खरिदबिक्री अर्डर सम्म राख्न सकेनन् ।
यसपछि क्रमश अपर तामाकोशीको शेयर बिक्रीगर्नेहरुको चाप बढ्न थाल्यो र शेयरमूल्य घटेर २८१ रुपैयाँसम्म झर्यो । एकैदिन बजारमा ६१ रुपैयाँसम्म उतारचढाब देखियो । बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९२ रुपैयाँ कायम भएको छ ।
यसदिन यो कम्पनीको २३ करोड ४३ लाख बराबरको शेयर किनबेच भयो । यो कुल बजार हिस्साको झण्डै ६४ प्रतिशत हो । आइतबार कूल ३६ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । नेप्सेमा अपर तामोकोशीको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत छ ।

Shares

Be the first to comment on "अपर तामाकोसीको सेयर एकैदिन ६१ रुपैयाको फरक"

Leave a comment

Your email address will not be published.


*