अपर तामाकोसीको साधारण सभा रोक्न विगू गाउँपालिकाको माग

दीक्षण समाचार
चरिकोट, १० असार
अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको वार्षिक साधारणसभा तत्काल स्थगित गर्न दोलखा बिगु गाउँपालिका प्रमुख (अध्यक्ष) युधिष्ठिर खड्काले चेतावनी दिएका छन् । सोमबार कम्पनीलाई पत्र लेखी उनले यस्तो चेतावनी दिएका हुन् ।
जिल्लाबासी सेयरधनीलाई पर्याप्त जानकारी नदिई साधारणसभा गर्न लागेको भन्दै चेतावनी दिइएको हो । बुधबार (असार ११ गते) कम्पनीको साधारणसभा हुन लागेको छ । साधारणसभाबाट सर्वसाधारण तर्फबाट ४ सञ्चालक चयन गर्ने तयारी छ । सर्वसाधारणको प्रतिनिधिको रूपमा सञ्चालक नियुक्त गर्ने सभामा जिल्लाबासी वा सबै सेयरधनीलाई जानकारी नगराएको भन्दै उनले आपत्ति जनाएका छन् ।
साधारणसभा हुनु ३ दिनअघिमात्र बिगु गाउँपालिकालाई मौखिक जानकारी आएकाले सरोकारवालासँग परामर्श गरेर अर्को मिति तोक्न पनि अध्यक्ष खड्काले आग्रह आग्रह गरेका छन् । आयोजना निर्माणक्रममा उत्पन्न समस्या समाधान गर्न जिल्ला तथा गाउँपालिकाले पुर्याएको योगदानलाई ध्यान नदिएको भन्दै उनले कम्पनीको ध्यानाकर्षण गराएका छन् । साधारणसभा मिति नसारे आयोजना निर्माण रोक्ने उनको घुमाउरो चेतावनी छ ।
उनले कम्पनीलाई लेखेको पत्रमा भनिएको छ– घोषित मितिका सबै कार्यक्रम तत्काल स्थागित गरी दोलखाका गाउँपालिका, नगरपालिका, संघ–संस्था र सरोकारवालासँग छलफल गरी अर्को मिति तोकी सबै सेयर सदस्यको मतदान गर्न पाउने अधिकार सुनिश्चित गरी राष्ट्रिय गौरवको आयोजना निर्माण अविछिन्न रूपमा अगाडि बढाउने वातावरण सिर्जना गरिदिनुहुन अनुरोध गर्दछु । खड्काले जिल्ला समन्वय समितिको कार्यालय चरिरकोटलाई बोधार्थ लेखेर कम्पनीलाई पत्र लेखेका छन् ।
सञ्चालक बन्न १२ जनाको आवेदन परेको छ । बुधबार हुने साधारणसभा र चुनावबाट ४ जना छनोट गर्ने योजना छ । कम्पनीले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अहिलेसम्म आयोजनाको करिब ९८ प्रतिशत निर्माण पूरा भएको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडमा सर्वसाधारणका तर्फबाट सञ्चालक बन्न १२ जना प्रतिस्पर्धामा छन् । ४ जना सञ्चालकका लागि १२ जनाको उम्मेद्वारको रुपमा आवेदन दिएका छन् ।
सर्वसाधारण सेयरधनी समूह (ख) बाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको हो । सञ्चालकका लागि ३ महिलासहित १३ जनाले नाम दर्ता गराए पनि एक जनाबारे उजुरी परेकाले १२ जनाको मात्र सूची प्रकाशन गरिएको सहायक निर्वाचन अधिकृत संजिव लामाले जानकारी दिए ।
असार ११ गते हुने वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक छनोट हुनेछन् । कम्पनीमा ८ लाख १८ हजार सेयरधनी छन् । सेयरधनी सबैले सञ्चालक छनोट गर्न मतदान गर्न पाउनेछन् । देशैभरि सञ्चालक रहेकाले अधिकांशले प्रोक्सी राखेर मतदान गर्ने बताइएको छ । शनिबारसम्म सबैले प्रोक्सि बुझाएका छन् ।
कम्पनीको सञ्चालक बन्नका लागि प्रकाश भुषाल, डा. प्रदिपकुमार मैनाली, अशोक बुढाथोकी, हरिप्रसाद भुर्तेल, गोसाइँ केसी, कल्याणी रिमाल, सिर्जना सुवेदी, प्रकाश तिवारी, विश्वनाथ शर्मा, लोकेन्द्रबहादुर साउद, सुशिल पोखरेल र रामहरि शर्मा रहेका छन् । मैनाली, केसी, रिमाल र पोखरेल दोलखाबासी हुन् । त्यसैगरी विश्वनाथ शर्मा र साउद नेपाल विद्युत प्राधिकरणका कर्मचारी हुन् । प्रोक्सि गणनापछि जसको बढी हुन्छ उसले विजयी हाँसिल गर्छ । तर प्राक्सि दिन छुटेका शेयरधनीले साधारण सभाकै दिन उपस्थित भएर पनि मतदान गर्न सक्ने व्यवस्था रहेको कम्पनी सचिव श्रेष्ठले बताए ।

Shares

Be the first to comment on "अपर तामाकोसीको साधारण सभा रोक्न विगू गाउँपालिकाको माग"

Leave a comment

Your email address will not be published.


*