अनेरास्ववियु दोलखाले बुझायो ध्यानाकर्षण पत्र

दीक्षण समाचार
चरिकोट, माघ १८
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दोलखाले सोमबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार समक्ष माग गर्दै प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण बुझाइएको हो । स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधि २०७९ जेष्ठ ०७ मा समाप्त हुँदै छ । ५ वर्षे कार्यकाल पुरा गरिसक्दा नयाँ जनप्रतिनिधि निर्वाचित नहुने हो भने आगामी जेष्ठ ०७ गते पछि ७५३ वटा स्थानिय सरकारको कार्य अवधि सकिन्छ र स्थानीय तहमा शून्यता आउँछ तर धारा २२५ को अपव्याख्या गरी स्थानीय तहको निर्वाचन सार्न गठबन्धन सरकार लागि परेको भन्दै निर्वाचन सार्न नमिल्ने कुरा ध्यानाकर्षण गराइएको अध्यक्ष राजकुमार ढुँगेलले बताउनुभयो । माग पूरा नभए लोकतन्त्र बचाउने लडाइँमा पुनः एकपटक सडकमा उत्रन अनेरास्ववियु दोलखा बाध्य हुने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितीको जिम्मेवार स्वयम् परमादेशबाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी समेत दिइएको छ । संविधान विपरित सत्ता गठबन्धनको विभिन्न बाहानाबाजीमा निर्वाचनबाट हारिने डर र अप्राकृतिक गठबन्धनलाई कृतिम रुपमा लम्ब्याउन सकिन्छ की भन्ने अभिलाषा प्रष्ट देखिएको समेत अनेरास्ववियुले आरोप लगाएको छ । स्थानीय चुनाबको घोषणाको माग गर्दै शनिबार युवा संघ र अनेरास्ववियुले चरिकोटमा राँके जुलुश प्रर्दशन गरेको थियो । सरकारले स्थानीय तहको चुनाबको घोषणा गर्नुको साटो टार्ने गरेकोले दवाब दिन राँके जुलुश प्रर्दशन गरिएको बताइएको छ ।

Shares

Be the first to comment on "अनेरास्ववियु दोलखाले बुझायो ध्यानाकर्षण पत्र"

Leave a comment

Your email address will not be published.


*