चरिकोट, पुस १४ । दोलखामा आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान गरिने भएको छ । जिल्लाको ९ वटै स्थानीयमा गणक परिचालन गरि गरिब घरपरिवार पहिचान गरिने भएको हो । गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क संकलनको गर्न जिल्लाभर ५१ जना गणक परिचालित हुने भएका छन् । त्यस्तै गणकहरुलाई सुपरिवेक्षण गर्नका निम्ति सबै स्थानीय तहमा सुपरिवेक्षक पनि १-१ जना छनौट हुनेछन् । स्थानीय तहहरुले सुपरिवेक्षक र गणकहरुको छनौट कार्य शुभारम्भ गरिसकेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए । सम्बन्धित स्थानीय तहले माघ महिनाको पहिलो साता गणक र सुपरिवेक्षक छनौट गरिसक्नुपर्नेछ । जिसस प्रमुख डबल पाण्डेका अनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा अन्य पालिकाको तुलनामा सबैभन्दा बढी अर्थात् ९ जना गणक छनौट हुनेछन् । त्यस्तै जिल्लाको अर्काे जिरी नगरपालिकामा ५ जना, बैतेश्वर गाउँपालिकामा ६ जना, कालिञ्चोक गाउँपालिकामा ६ जना, तामाकोसी गाउँपालिकामा ५ जना गणकहरु छनौट हुनेछन् । मेलुङ गाउँपालिकामा ५ जना, शैलुङ गाउँपालिकामा ५ जना, गौरीशंकर गाउँपालिकामा ५ जना, विगु गाउँपालिकामा ५ जना गरि जिल्लामा ५१ जना गणक छनौट हुनेछन् । माघको दोस्रो साता स्थानीय तहले छनौट गरेका गणक र सुपरिवेक्षकलाई साताव्यापीरुपमा गरिब घरपरिवार पहिचान सम्बन्धमा प्रशिक्षण दिइने जिसस प्रमुख पाण्डेले बताए । माघको तेस्रो साताबाट सबै पालिकामा गणकहरु परिचालित भई गरिब घरपरिवारको तथ्याङ्क संकलन गर्न थाल्नेछन् । घरायसी सुबिधा, घरायसी सम्पति, जग्गाजमिनको अवस्था, परिवारको अवस्था, बसोबासको अवस्था लगायत ९ सुचकको आधारमा तथ्याङ्क संकलन गरिने जनाइएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गणकहरुबाट प्राप्त तथ्याङ्क पठाइने र मन्त्रालयद्धारा प्रशोधन गरि गरिब परिचयपत्र वितरण हुने जनाइएको छ । राज्यको तर्फबाट राहत उपलब्ध गराउन गरिब वर्गको पहिचान तथा तथ्याङ्क नहुँदा समस्या हुने गरेको छ । यो समस्या समाधान गर्न र गरिब वर्गको हित हुने गरी आयआर्जन, सीपमुलक, खाद्य सुरक्षा भत्ता लगायतका सामाजिक संरक्षणका कार्यक्रम सञ्चालन गर्न गरिब घरपरिवार पहिचान गरि परिचयपत्र वितरण हुनेछ ।
Related Articles
समाज, राष्ट्रीय समाचार, समाचार
Be the first to comment on "दोलखामा गरिब घरपरिवार पहिचान गरिँदै"