नागरिकको गुनासो महङ्गीले जीवन धान्न नै मुस्किल

ईश्वर बिश्वकर्मा ÷चरिकोट, –उच्च आयस्रोत हुनेलाई महङ्गीको खासै प्रभाव छैन । तर विपन्न र श्रमिक वर्गको भने जीवन प्रभावित हुन थालेको छ । सुख र समृद्धिको आश्वासनमा उत्साहित भएर चुनावमा सहभागी भएका मतदातालाई समृद्धि चाहिँ होइन, उपभोग्य वस्तुमा मूल्य वृद्धिको ”उपहार“ दिने सरकार गरिबको सरकार नभएको गुनासो जनस्तरबाट आइरहेका छन् । कोरोना र लकडाउनको चपेटामा परेका नागरिकहरु त्यसबाट तङ्ग्रिएर बामे सर्दै गर्दा महङ्गीको चपेटामा पर्नु परेको हो । यसले सीमित आयस्रोत भएका नागरिकलाई जीवन धान्नै मुस्किल परेको छ। विगु गाउँपालिका वडा नं. २ ओराङ यार्सा गाउँका ठूल्बे बिश्वकर्मालाई महङ्गीले चिन्ता बढाएको छ । गाउँमै परम्परागत रुपमा आरान पेशा सञ्चालन गर्दै आउनुभएका बिश्वकर्माको आयस्रोत आरान बाहेक अन्य छैन । तर अहिले आरानबाट उत्पादित सामाग्री बिक्री सोचजस्तो हुँदैन । यही बेला बजारमा उपयोग्य वस्तुको भाउ बढेको छ । “मूल्य वृद्धि निरन्तर उकालो लागेको छ । तर हाम्रो पेशाव्यसाय ओरालो तिर झर्दै छ । उपयोग्य वस्तुसहित स्वास्थ्य, शिक्षा लगायतका सेवाका मूल्य समेत बढाइएको छ ।“ बिश्वकर्माले भन्नुभयो ”गाउँमा त झन् ढुवानी भाडा बढेको भनेर मनोमानी खाद्य सामाग्री सहित विभिन्न सामाग्रीको मूल्य वृद्धि भइरहेको छ । मूल्य वृद्धि रोक्ने प्रयास कसैले नगरेको देख्दा हामी गाउँलेको जीवन यस्तै हो, भन्ने लागिरहेको छ ।“ ओराङ ग्रामीण क्षेत्र भएकोले कसैको निगरानी तथा अनुगमनको पहुँचबाट टाढा रहेकोले जथाभावी मूल्य वृद्धि गराइएको र म्याद नाघेका सामाग्री समेत बिक्री हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “चाहिने सामान गाउँमा नकिनुँ भने अन्त कता जानु र । त्यही पनि पाउन मुस्किल पर्छ । कतिपय त म्याद नाघेका सामान हुन्छन् । त्यसैको प्रयोग गर्नुपर्ने बाध्यता छ ।” पेट्रोलियम पदार्थ, ग्याससंगै खाद्य र अखाद्य वस्तु सहित हरेक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा गरिब, बिपन्न वर्ग, मजदुर, संयुक्त र ठूलो परिवार, बेरोजगार, अशक्त, अपाङ्गता भएका, विद्यार्थीहरुको जीवन प्रभावित बन्न थालेको छ । विगु गाउँपालिकाका दुर्गा खड्का चरिकोटमा अध्ययनका लागि कोठामा भाडा लिएर बसिरहनुभएको छ । चामलदेखि दैनिक तरकारी समेत किन्नुपर्ने उहाँको बाध्यता हो । तर बजार भाउ बढ्दा खर्च धान्नै मुस्किल हुन थालेको उहाँले बताउनुभयो । “हरेक सामाग्रीको भाउ बढेको छ । घरबाट बुबाआमाले खर्च पठाइरहनुभएको छ ।” उहाँले भन्नुभयो “तर पहिलेपहिले जति पठाउनुहुन्थ्यो । अहिले पनि त्यति नै पठाउँदा त समस्या नै पर्छ । त्यसैले खर्च अलि बढाएर पठाउन भन्नुपर्ने अवस्था आएको छ ।“सात समुद्र पारीको देश रुस र युक्रेनबीच लडाईँ हुँदा महङ्गी बढेको भनी नेपाल सरकार आफ्ना नागरिकको अवस्था टुलुटुलु मात्र हेरेर बसेको छ। साँच्चिकै रुस र युक्रेनको युद्धले नेपाली बजारमा भाउ बढेको हो, भने विकल्प खोजेर गरिबको अभिभावकत्व वहन गर्नुपर्ने सरकार मुकदर्शक बन्दा सरकार नभएको अनुभूति हुन थालेको सर्वसाधारणको गुनासो छ । प्रेम बहादुर कार्कीले मूल्य वृद्धि बढाउने सरकार धनाढ्य र सम्भ्रान्त वर्गको मात्र रहेको आरोप लगाउँदै सरकारलाई व्यंग्य गर्दै धन्यवाद भन्नुभयो । जनतालाई मारमा पारेर मूल्य वृद्धि गरी चुनाव खर्च उठाउन सरकार तल्लिन भएको उहाँको आरोप छ । ”हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको ढाड सेक्ने काम सरकारले गरेको छ ।” उहाँले भन्नुभयो ।“ पेर्टोलियम पदार्थको मूल्यसँगै सम्पूर्ण वस्तुको मूल्य आकाशिएको छ । यसरी मूल्य वृद्धिले जनताको ढाड सेकाउने सरकारलाई हाम्रो तर्फबाट धन्यवाद छ भनि सुनाइदिनु ।“महङ्गीका कारण विपन्न वर्गका नागरिकलाई एकसरो लाउन र दुई छाक खान समेत धौ धौ पर्ने स्थिति आउने स्थितिमा पुग्न थाल्दा समेत सम्बन्धित निकाय मौन रहेको तामाकोशी गाउँपालिका झुलेका अनन्तराज कार्कीले आरोप लगाउनुभयो । चामल, खानेतेल, चिनी, दलहन, तरकारी लगायतका वस्तुहरुमा बढेको मूल्यबृद्धिले जनताको ढाड सेकिरहेको बेला सरकार दायित्व विमुख भइ मौन बस्नु जति दुखदायी अरु नभएको कार्कीको गुनासो छ । डिजेल र पेट्रोलको मूल्य बढाइएपछि ढुवानी भाडामा भारी वृद्धि भएको छ। त्यसैको प्रभाव बजारका हरेक सामाग्रीमा परेको छ । तर मार भने विपन्न वर्गका नागरिकले खेप्नुपर्ने परेको छ ।” उहाँले भन्नुभयो। गरीबको जीवनलाई ध्यान नदिई अस्वाभाविक र अनपेक्षित रुपमा बढाइएको मूल्य वृद्धि र बजारको अराजकता नियन्त्रण गर्न छाडेर सरकार मौन बसिरहेको बेला अब प्रभावित नागरिक पनि चुप लागेर सहेर बसे जीवन थप पीडादायी हुने भएकोले सरकार र मूल्य वृद्धि विरुद्ध संघर्ष र आन्दोलन उत्रिन कार्कीले आह्वान गर्नुभयो । उहाँले भन्नुभयो “कर्मचारीको तलबभत्ता बढाउने तर नागरिकको जीवनस्तर उकास्न ध्यान नदिने सरकारको खुलेर आचोलना गर्नुपर्ने देखियो । सरकारको प्रशंसा गर्ने त ठाउँ नै छैन ।” बजारमा महङ्गी बढिरहेको बेलामा स्थानीय सरकारले समेत महङ्गीमा लगाम लगाउन र यसबाट जनतालाई मुक्ति दिन तदारुकता देखाउन आवश्यक रहेको उहाँको भनाई छ ।

Shares

Be the first to comment on "नागरिकको गुनासो महङ्गीले जीवन धान्न नै मुस्किल"

Leave a comment

Your email address will not be published.


*