भोर्ले पुल ९ वर्षदेखि अलपत्र

दीक्षण समाचार
दोलखा, ३ पुस
विगू गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने भोर्लेको पुल ९ वर्षदेखि अलपत्र परेको छ । कन्सल्टेन्टले गलत डिजाइन गरेपछि निर्माणाधिन पुल अलपत्र परेको हो ।
नेपाल कन्सल्टेन्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने तामाकोसी नदीमाथि भोर्लेमा पुलको डिजाइन गरेको हो । तर कन्सल्टेन्टकै गलत डिजाइनले पुल अहिलेसम्म अलपत्र छ । कन्सल्टेन्टले सिफारिस गरेको डिजाइन, मापदण्ड र तौलअनुसार पटकपटक वर्कसप डिजाइन गर्दा पनि ५२ टन तौल अपुग भएर अन्योल भएपछि ९ वर्षसम्म पुल बन्न नसकेको हो ।
कन्सल्टेन्टले करिब १ सय ६४ टन स्टिल फेव्रिकेसनको सिफारिस गरेको थियो । २ फरक वर्कसपमा डिजाइन गर्दा करिब २ सय १६ टनको हिसाव निस्किएपछि डिजाइन गलत सावित हुन आएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ । दुवै चौँडामा फुटपाथ सहितको एक लेनको पुल करिब साढे ४२ मिटर लम्बाई रहेको छ ।
२०६६ सालमा करिब ६ करोड लागतमा रौताहा÷ओमबुद्ध जेभीले पुल निर्माणको लागि बोलपत्र पारेको थियो । ठेकेदार कम्पनीले पुल फाउन्डेसनको काम सकिएको ७ वर्ष वितिसक्दासमेत कार्यालयले तौल थपको टुंगो लगाउन नसकेको आरोप लगाउँदै आएको छ । सरकारको लगानीमा समयमा पुल पूरा नभएपछि मार्बूको खानी खोलामा निर्माणाधिन खानी खोला १ जलविद्युत आयोजनाले आफ्नै लगानीमा ५ वर्ष अघि भोर्ले सहित ४ वटा बेलिब्रिज हालेर आफ्नो काम गरिरहेको छ ।
प्रतिष्पर्धाबाट ठेक्का सम्झौता गर्दाको वखत अनुमान गर्न नसकिने परिस्थितिको कल्पना गरेर सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार अधिकारप्राप्त कर्मचारीले १५ प्रतिशतसम्म ‘भेरिएसन अर्डर’मार्फत तौल र दर फेरबदल गर्न सक्ने नियमलाई कार्यान्वयन गरेर डिभिजन सडक कार्यालय दोलखाले तौल र दर फेरबदल गरि करिब १ सय ९५ टनमा पुनः डिजाइन गरेको स्रोत बताउँछ । करिब ३१ टन बढेको तौलको भुक्तानीको लागि १ करोड बजेट समेत स्वीकृत भएर आएको स्रोतले जानकारी दिएको छ ।
वर्कसप डिजाइनभन्दा करिब २१ टन कम तौलमा पुनः डिजाइन गरिएको पुलको स्टिल फेव्रिकेसन कन्सल्टेन्टले सिफारिस गरेकोभन्दा पातलो, कम जोड्नीयुक्त र पातलो ट्रस भएको हुने स्रोतको दावी छ । करिब ३० देखि ४५ टनको लागि डिजाइन गरिएको पुल पुनःडिजाइन गर्दा बढिमा ३० टन भारबहन क्षमताको मात्र हुनेछ । समयमा पुल निर्माण हुन नसक्दा गौरीशंकर गाउँपालिका सिंगोलाई सुविधा पुग्छ । त्यस क्षेत्रमाा खानी खोला, खारे खोला, घट्टेखोला, गुरुम्फी खोला र तिनेखू खोलामा आधा दर्जन बढी जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् ।
कार्यालयले ठेकेदारलाई लगातार पुल बनाउन ताकेता गर्ने तर डिजाइन सिफारिस गर्ने कन्सल्टेन्टलाई कारबाही नगर्दा पुल अलपत्र परेको हो । ७ वर्ष अघि पुलको दायाँबाँया उठाएको पिलरको रडहरु खिया लागेर खाइसकेका छन् । गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले कसको के समस्या जे भए पनि पुल चाँडो बनाउनु पर्नेमा जोड दिए ।
पुल बनाउँदा थपिएको पुलको पाता कसले व्यहोर्ने भन्नेमै विवाद छ । यसको समस्या सडक डिभिजन कार्यालय चरिकोट हुँदै सडक विभागसम्म पुग्यो । ठेकेदारले अदालतमा मुद्धा समेत दायर ग¥यो । तर पछि कन्सल्टेन्टलाई कारबाही गरेर भेरियसन बापतको रकम भुक्तानी गर्ने सहमतिमा ठेकेदारले एक वर्ष अघि मुद्धा फिर्ता लिए पनि काम अघि बढ्न सकेको छैन ।
“डिजाइन गलत भएकोमा कन्सल्टेन्टले पनि गल्ति स्वीकार ग¥यो” ठेकेदार कम्पनीका प्रतिनिधि ग्याल्बो तमाङले भने “थपिएको फलामको भुक्तानी गर्नेमै कार्यालयकै आलटालले अड्किएको छ ।” पुलको काम सुरु हुँदा फलामे पाताको बजार मूल्य १३० रुपैया थियो । तर अहिले ३२० रुपैंया पुगेको छ । तर यो बढेको मूल्य नै कसले व्यहोर्ने भन्नेमा पनि विवाद छ ।
पुलको काम सुरु हुँदा डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख दयाकान्त झा थिए । उनीपछि ५ जना डिई फेरिए । सबैको बचत पुल जसरी पनि पुरा गर्ने नै भए तापनि कुनैले पनि पूरा गर्न सकेका छैनन् । केही दिन अघि मात्रै नयाँ डिई भएर आएका धर्मेन्द्र झाले आफू नयाँ भएकाले सबै जानकारी नभए तापनि अब बुझेर अगाडी बढाउने बताए ।

Shares

Be the first to comment on "भोर्ले पुल ९ वर्षदेखि अलपत्र"

Leave a comment

Your email address will not be published.


*