कालिञ्चोकमा केबलकार ३ दिनपछि

दोलखा, १२ कार्तिक
कालिञ्चोक केबलकार यात्रुहरु समेत चढ्ने गरी यसै हप्ताको अन्तिमबाट सञ्चालनमा आउने भएको छ । दसैं अघि नै प्रारम्भिक परीक्षण सफल भएको केबलकारको अन्तिम प्राविधिक परीक्षणपछि सर्वसाधारण यात्रु चढाएर परीक्षण गर्ने भएको छ ।
कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरेको यो केबलकार मुलुकको तेस्रो केबलकार हो । यस अघि मनकामना र चन्द्रागिरीमा केबलकार सञ्चालन हुँदै आएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दुई वर्षअघिदेखि निर्माण सुरु गरेको हो ।
कालिञ्चोकमा निर्माण भइरहेको केबलकारको काम अन्तिम चरणमा पुगेको छ । केबलकारको अन्तिम प्राविधिक परीक्षणका लागि २ जना स्वीस इन्जिनियर सोमबार चरिकोट आइपुगेका छन् । उनीहरु मंगलबार नै कालिञ्चोक पुगेर केबलकारको इलेक्ट्रिक तथा सफ्टवेयरको परीक्षण गर्ने छन् । परीक्षण सफल भएर कुनै समस्या नआए विहीबार वा शुक्रबारबाट यात्रु चढाएरै परीक्षण सञ्चालन गरिने कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए । केबलकारका लागि आवश्यक सामग्री स्विट्जरल्यान्डबाट ल्याइएको हो ।
केबलकारको एक महिना जति परीक्षण पछि व्यवसायिक रुपमा सञ्चालनमा आउने छ । केबलकार पूर्णरुपमा मङ्सिरपछि मात्र सञ्चालन हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । केबलकारको अहिलेसम्म ९८ प्रतिशत काम पूरा भएको छ ।
यसअघिको सरकारले केबकारलाई ४ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने जनाएको थियो । तर अहिलेको सरकारले नयाँ नियम नबनेको भन्दै भन्सार छुट नदिँदा कम्पनीलाई थप आर्थिक भार पुगेको शिवाकोटीको भनाइ छ । दोलखाली उद्योगी व्यवसायीहरुको लगानी रहेको सो केबलकारमा ४ ओटा गोण्डला रहने छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता रहेको कम्पनीले जनाएको छ ।


कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि ९ सय मिटर लामो केबलकार निर्माण गरिएको छ । पहिलो चरणमा पनि दसैं अघि स्वीस इन्जिनियरहरुबाट गोण्डला राखेर इन्जिनियरिङ परीक्षण गरेको थियो । कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नु पर्छ । कतिपय धार्मिक पर्यटकहरु त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् । केबलकार निर्माणपछि कालिञ्चोक धार्मिक पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको छ । केबलकारका लागि ५ सय रुपैयामा आवत आवत गर्न मिल्ने कम्पनीले जनाएको छ ।
केबलकारबाट मन्दिरसम्म पुग्न पाँच मिनेट मात्र लाग्ने उनले उनले बताए । कालिञ्चोकका कुरीसम्म सडकको अवस्था सुधार भएको र केबलकार निर्माण सुरु भएपछि सुविधा सम्पन्न होटलहरु समेत ४ दर्जन बढी खुलेका छन् । होटलको संख्या बढ्दै छन् । केबलकारबाट कुरी बजार र हिमालका मनोरम दृष्य नजिकबाट नियाल्न सकिन्छ ।
२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको सीईओ शिवाकोटीले बताए । ‘सुरुमा २६ करोड रुपैयाँको लागतमा निर्माण गर्ने भनिए पनि निर्माण अवधि बढेसँगै सामानको मूल्य पनि बढेका कारण लागत वृद्धि भयो,’ उनले भने । डलरको मूल्य वृद्धि र निर्माण सामाग्रीमा भएको मूल्य वृद्धिले पनि लागत बढेको उनले बताए ।
केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ भने तापनि वडा नं. १ र ५ बीच सिमाना विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ ।

 

Shares

Be the first to comment on "कालिञ्चोकमा केबलकार ३ दिनपछि"

Leave a comment

Your email address will not be published.


*