आधाभन्दा बढी निजी आवास पुर्ननिर्माण पूरा

दीक्षण समाचार
चरिकोट,
भूकम्प गएको साढे तीन वर्षपछि दोलखामा ४१ हजार निजी आवास पुनर्निर्माण सकिएको छ । यो संख्या कुल भुकम्प पीडित लाभग्राहरुको आधाभन्दा बढी हो । भूकम्पको तीन वर्ष पाँच महिना पूरा हुँदा दोलखामा ४१ हजार दुई सय २७ वटा निजी आवास निर्माण सकिएको हो ।
निजी आवास निर्माण सकेकामध्ये ३९ हजार ४ सय ३९ परिवारले अन्तिम किस्ताबापतको रकम प्राप्त गरिसकेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भूकम्पीय आवास पुनर्निर्माण शाखा दोलखाका सचिवालय प्रमुख इन्जिनियर निर्मलदर्शन आचार्यले जानकारी दिए । १ हजार ७ सय ८८ लाभग्राहीले भने तेस्रो किस्ताका लागि निवेदन दिएका छन् ।
आवास निर्माण सुरु गरेका ४९ हजार ७ सय ७५ परिवारले दोस्रो किस्ताबापतको रकम लगिसकेका छन् भने ९ सय २५ परिवारले दोस्रो किस्ता रकम निकासाका लागि आवेदन दिएका छन् । दोलखामा ६८ हजार ७ सय ६१ परिवार लाभग्राहीका सूचीमा छन । त्यसमध्ये ६० हजार ९ सय १४ जनाले अनुदान सम्झौता गरेका छन । अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसक्ने परिवारको संख्या भने ६० हजार ८ सय पुगेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको बिगु गाउँपालिका–२ ओराङ र बैतेश्वर गाउँपालिका–३ यार्सा गाउँमा दाताको सहयोगमा निजी आवास पुनर्निर्माणको काम सकिएको छ । कार्यालय प्रमुख आचार्यले यही रफ्तारमा पुनर्निर्माणको काम अघि बढेमा राज्यले तोकेकै अवधिमा दोलखाको पुनर्निर्माण सम्पन्न हुने दाबी गरे ।
दोलखाका भूकम्पपीडितले धमाधम नयाँ आवास निर्माण गरे पनि पुरातात्विक कला र संस्कृतिको भने जगेर्ना हुन नसकेको गुनासो आउन थालेको छ । अधिकांश पीडितले पुरानो कला संस्कृति झल्कने खालका घर निर्माण गरेका छैनन् ।
पुनः निर्माणमा पछिल्लो सयम स्थानीय तहलाई नै जिम्मेवार बनाएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण दोलखाले दोलखाको सबै स्थानीय तहका प्रमुखहरु सहितको सरोकारवालाहरुको बैठक राखी पुनः निर्माणको समिक्षा र भावी भार्यक्रममबारे छलफल गरेको हो ।
पुनः निर्माणमा विद्यालयको पुनः निर्माणमा सुस्तता भएको र विद्यालयका अस्थायी सिकाइ केन्द्र मर्मतका लागि अनियमितता भएकाले कारबाहीका लागि स्थानीय तहका प्रमुखहरुले माग गरेका छन् । तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले विद्यालय भवनको निर्माणमा प्रधानाध्यापकहरुलाई ठेकेदार बनाएकाले त्यस्तो काम रोक्न माग गरे ।

Shares

Be the first to comment on "आधाभन्दा बढी निजी आवास पुर्ननिर्माण पूरा"

Leave a comment

Your email address will not be published.


*