नेकपाका सम्पूर्ण तहगत संरचनाहरु तत्काल गठन गरियोस्

(लेखक नेकपा दोलखाका प्रस्तावित सचिवालय सदस्य हुन्

बाबुकाजी कार्की
नेपाल राष्ट्र र नेपाली जनताको ऐतिहासिक आवश्यकताले दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भयो । समृद्ध नेपाल सुखी नेपाली नारा सफल बनाउन भएको पार्टी एकताको लामो समयसम्म आश्चर्यजनक रुपमा तहगत संरचना बनेका छैनन्, बनाइएका छैनन् । सिंगो राष्ट्रलाई उल्लेखित नारा सफल बनाउन दु्रत्ततर गतिमा दौडनु, दौडाउनु पर्नेमा यसो किन भइरहेको छ ?
सिंगो देशले माग गरेका दुई ठूला कम्युनिष्ट पार्टीको एकता गर्ने सुझबुझ पूर्ण निर्णय गर्न सक्ने नेतृत्व अरु संरचना बनाउन र संस्थागत रुपमा पार्टी संचालन गर्न किन आलटाल गरिरहेको छ ! तिनै तहका निर्वाचनमा दुई तिहाई प्राप्त जनमतको उचित सम्मान र कदर गर्न साथै तदनुरुप सबै तहलाई आवश्यक मार्ग निर्देशन गर्न पार्टी संस्थागत हुन आवश्यक छ । सबै संरचना बन्नु आवश्यक छ ।
केन्द्रीय कमिटी गठन भएको लामो समय भयो, आजसम्म बैठक आयोजना गरिएको छैन र केन्द्रीय सदस्य महोदयहरु पनि माग गरिरहनुभएको छैन । केन्द्रीय कमिटी तोरीबारीको हाके हैन जो वैरीहरुलाई तर्साउन बनाइएको होस् । केन्द्रीय सदस्यको बिल्ला लाउन र अतिथि खानमात्र पनि बनाइएको हैन कि काम नगरी आवश्यक भूमिका निर्वाह नगरि केन्द्रीय सदस्यको पगरी गुथ्न पाइयोस् ! सिंगो देशलाई नेतृत्व गर्नुपर्ने पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटीको वैठक हालसम्म पनि माग नगर्नु वा आयोजना नगर्नु दुःखद कुरा हो ।
त्यसैगरी ढिलो गरी बनाइएका प्रदेश कमिटीले पनि पूर्णता पाएको छैन । चार÷चार जनाको संरचना बनाएर छोडिएको पनि निकै भइसक्यो । प्रदेश सरकारलाई मार्गनिर्देश गर्नुपर्ने तहको यो हालत किन ? यद्यपी यो प्रदेश कमिटी बनाउँदा आफैले बनाएको मापदण्ड उल्लंघन गरिएको छ । यसले अनावश्यक विवाद सिर्जना गरेको छ । हिजो निर्वाचित तहका व्यक्तिलाई दोहोरो महत्वपूर्ण जिम्मेवारी नदिने मापदण्ड बनाएपछि ५ नम्बर प्रदेशको मूख्य मन्त्री शंकर पोखरेल र ४ नम्बरको मूख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिम्मेवारी दिएको किन ? आफ्नो विचार समूहका अच्छा मानिस हुन् भने पनि त्यतिकै अच्छा व्यक्ति अरु पनि थिए । आफैले बनाएको मापदण्ड आफैले उल्लंघन गर्ने छुट पार्टीका जो कसैलाई पनि छैन र हुनु पनि हुँदैन । बाँकी प्रदेश कमिटीमा राजनीतिक आन्दोलनकै नेताहरु हुनुहुन्छ, ठिकै छ । पूर्णता चाँही तत्काल पाउनुप¥यो ।
केन्द्रले कार्यदल बनाएर दिएको जिम्मेवारी कार्यदलले पूरा गरेर जिल्लाको संरचना बनाएर सिफारीस गरेको दुई महिना हुन लाग्यो । यसको अनुमोदन हुन वा यसलाई तत्काल टुङ्ग्याउन जरुरी छ । र जिल्ला मातहतका कमिटी बन्ने बनाउने मापदण्ड बनाएर छिटो सर्कुलर गर्नुप¥यो वा जिल्लालाई अधिकार प्रत्यायोजन गर्नुप¥यो ।
ऐतिहासिक आवश्यकताले जन्माएका पार्टी एकता र एकताले जन्माएको दुई तिहाईको केन्द्र, प्रदेश र स्थानीय सरकारहरु सहित पार्टाीका आम सदस्यहरु, जनसंगठनहरु मार्फत आम जनतालाई गोलबन्द गरेर समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्ने अभियान छेड्न ढिला भइसक्यो । कुनै पनि बाहानामा अब ढिलो गर्न नेतृत्वलाई छुट छैन ।
साथै नयाँ नेपाल निर्माण गर्न पार्टीका संरचनाहरु, गतिविधिहरु, सभा सम्मेलनहरु, वैठक भेलाहरु पनि नयाँ ढंगले गरिनु जरुरी छ । अब भद्दा, वैठक, भेला, सम्मेलन, सभालाई छरितो बनाइनुपर्छ । बीस जना सहभागि सभामा ५० जना अतिथि हुने परम्परा तोडिनुपर्छ । पहिलो त अब विगतका जस्ता सभाहरु आयोजना गरेर लाखौं रकम र लाखौं मूल्यको समय बर्बाद गरिनुहुन्न । सधैं सुनेका थोत्रा भाषण सुनाउन घरको÷अफिसको÷स्कुलको आवश्यक काम छोडाएर सभा आयोजना गरिनुहुन्न । गर्नैपर्ने सभाहरु पनि आवश्यकता र ओचित्यका आधारमा जनता बोलाउने र नेता जाने गर्नुपर्दछ । कार्यक्रम तोकिएको समयमा गरिनुप¥यो । स्कुलको आवश्यक काम छोडाएर सभा आयोजना गरिनुहुन्न । गर्नैपर्ने सभाहरु पनि आवश्यकता र ओचित्यका आधारमा जनता बोलाउने र नेता जाने गर्नुपर्दछ । कार्यक्रम तोकिएको समयमा गरिनुपर्छ । दुई तिन घण्टा ढिला गर्ने गराउने जो सुकै होस् उसको आलोचना गर्नुपर्छ र त्यसलाई पर्खेर अरुको समय बर्बाद बनाइनु हुन्न ।
वैठकहरु पनि आधुनिक समयसापेक्ष रुपमा गरिनुपर्छ । वैठकका एजेण्डा मिति, समय उल्लेख गरेर सबै सदस्यलाई ई–मेल गरिदिनुपर्छ । साधनको अभावमा आउन ढिला र जान हतार हुने अवस्थामा रुचीपूर्वक वैठकमा सहभागि हुन सकिन्न भन्ने कुरालाई ख्याल गरिनुपर्छ । प्रस्थावित एजेण्डाको प्रस्तावित निर्णय प्रस्तुत गरेर राय माग गर्नुपर्दछ । आवश्यक छलफलपछि पारित भएको घोषणा गर्नुपर्छ ।
वैठक वा भेलामा आउने अतिथिहरुमा अलि ठालूपन हुर्केको छ । मेरो अर्को काम छ भनेर वैठकमा आफ्ना ‘महानवाणी’ दिन हतारिएर हिड्ने गरेको पाइन्छ । यो वेठिक तरिका हो । त्यस्ता पण्डित बिना रोकिने त्यो पूजा होइन, नआउँदा भयो वा साँच्चै त्यस्तो महत्वपूर्ण काम हो भने वैठक÷कार्यक्रममा यहाँ यो कार्यक्रम छ भनेर जानकारी गराएर हिड्ने गर्नुप¥यो । आवश्यक छ भनेर हिड्ने अनि गुटका वैठक वा डाँडाकाँडा घुम्ने यो छुट दिन हुन्न अर्थात् अब देश र जनताको हितमा समर्पित यो पार्टी माथिदेखि तलसम्म एउटा आचारसंहिता बनाएर सबैलाई लागु गराएर नयाँ नेपाल निर्माणमा पार्टीको सम्पूर्ण शक्ति परिचालित गर्नु आजको आवश्यकता हो । यो क्षेत्रमा सम्बन्धित तहले आफ्नो काम गरोस् । धन्यवाद !
(लेखक नेकपा दोलखाका प्रस्तावित सचिवालय सदस्य हुन् ।)

Shares

Be the first to comment on "नेकपाका सम्पूर्ण तहगत संरचनाहरु तत्काल गठन गरियोस्"

Leave a comment

Your email address will not be published.


*