जिरी नगरपालिका वडा नं. १ को वडा कार्यालय निर्माण सुरु

दीक्षण समाचार
जिरी, १६ असोज
जिरी नगरपालिका वडा नं. १ को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । वडा कार्यालयद्वारा आयोजित एक कार्यक्रमका बीच जिरी नगरपालिकाका मेयर टंक जिरेलले भवनको सिलान्यास गरे ।
जिरी वडा नं. १ को कार्यालय पुम्पामा निर्माण सुरु भएको छ । वडा कार्यालयलाई छुट्याएको बजेटबाटै वडा कार्यालयको भवन निर्माण सुरु गरेको वडा अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए । नयाँ भवन हाल सञ्चालनमा रहेको वडा कार्यालयको अस्थायी कार्यालयभन्दा केही तल रहेको छ ।
गर्जाङढुङ्गा माध्यमिक विद्यालयको जग्गामा विद्यालयसँग सहमति गरेर भवन निर्माण सुरु गरेको वडा अध्यक्ष शेर्पाले बताए । साविक श्यामा गाविस भवन समेत भुकम्पले पूर्ण रुपमा ध्वस्त भएपछि सञ्चालन हुँदै आएको अस्थायी टहराबाट वडा कार्यालय समेत सञ्चालन हुँदै आएको छ ।
दोलखाको ९ स्थानीय तह ७४ वटा वडा मध्ये वडा कार्यालय भवन निर्माणको सुरुवात जिरी नगरपालिका वडा नं. १ ले सुरु गरेको हो । “हाम्रो कार्यालय अत्यन्तै कष्टपूर्ण रुपमा सञ्चालन गर्दै आएका छौं” वडा अध्यक्ष शेर्पाले भने “बजेटका लागि अन्यत्र नपर्खी आफ्नै स्रोतबाट भवन निर्माण सुरु गरेका छौं ।” वडा कार्यालय भवन ४ कोठाका लागि अहिले साँढे १३ लाख व्यवस्थापन गरेको उनले जानकारी दिए । वडामा प्राप्त हुने बजेटबाट साँढे १० लाख र हिमालय ऊर्जा विकास कम्पनीले ३ लाखको सहयोग गर्ने प्रतिबद्धता गरेको उनले बताए ।
हिमालयन ऊर्जा विकास कम्पनीले खिम्ती खोलाको पानी उपयोग गरी चुचुरेमा १९ मेगावाटको २ वटा जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । जिरी नगरपालिका वडा नं. १ र २ आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र हो । भवन सिलान्यास कार्यक्रममा जिरी नगरपालिकाका मेयर जिरेलले जिरीका ९ वटै वडा कार्यालयहरु क्रमशः निर्माण गर्ने योजना रहेको जानकारी दिए ।
वर्षात् सकिए लगत्तै जिरी नगरपालिका वडा नं. १ का सडकहरु सफा गर्ने काम सुरु भएको वडा अध्यक्ष शेर्पाले जानकारी दिए । हिउँदमा खनिएका सडक वर्षात्ले भएको खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाएर सबै सडकमा यातायात सञ्चालन योग्य बनाउन लागेको उनले जानकारी दिए । अधिकाँश सडक सफा भइसकेको बाँकी पनि ३ दिन भित्र पूरा हुने उनले बताए ।

Shares

Be the first to comment on "जिरी नगरपालिका वडा नं. १ को वडा कार्यालय निर्माण सुरु"

Leave a comment

Your email address will not be published.


*