तामाकोसी र शैलुङले वितरण गरे स्थानीयस्तरमा परिचयपत्र

दीक्षण समाचार
चरिकोट, १६ असोज
तामाकोसी गाउँपालिका र शैलुङ गाउँपालिकाले स्थानीय स्तरबाटै जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेका छन् । जेष्ठ नागरिक दिवसको अवसर पारेर आयोजित कार्यक्रममा दुवै गाउँपालिकाले परिचय पत्र समेत वितरण गरेका हुन् ।
तामाकोशी गाउँपालिकाले वडा नम्बर ५, ६ र ७ को जेष्ठ नागरिकलाई ६ नम्बर वडा कार्यालय च्यामामा जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । दिवसकै दिन मात्रै ३ सय ४७ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेलले जानकारी दिए । उनका अनुसार वडा नम्बर ५ का १९, ६ का २ सय ७१ र ७ का ९७ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको हो ।
तामाकोसी गाउँपालिकाले जेष्ठ नागरिक दिवसलाई सिविरकै रुपमा पनि मनाएको छ । त्यसैगरी शैलुङ गाउँपालिकाले पनि जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेको थियो । गाउँपालिकाले हालसम्म ५ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको गाउँपालिकाका सामाजिक विकास शाखाका बलराम पौडेलले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर १ को १ जना तथा २ र ३ को २÷२ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको उनले बताए । गाउँपालिकाबाटै वितरण गर्दै आईएको ज्येष्ठ नागरिक परिचय पत्र दँशै पछि भने वडा वडामै वितरण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए ।

Shares

Be the first to comment on "तामाकोसी र शैलुङले वितरण गरे स्थानीयस्तरमा परिचयपत्र"

Leave a comment

Your email address will not be published.


*