नेपाल चीनतर्फ ढल्केको भारतीय मिडियाको आरोप

काठमाडौं । चीन नेपालतर्फ बढी ढल्केको देख्दा भारतको चिन्ता बढ्न पुगेको छ । गत साता काठमाडौँमा भएको दुई देशबीचको व्यापार सम्झौतापछि चीनले नेपालका निम्ति वैकल्पिक समुद्रीमार्ग खोलिदिएको छ । उसले नेपाललाई ४ बन्दरगाह र ३ ल्यान्डपोर्ट प्रयोगको सुविधा प्रदान गरेको छ ।

अहिलेसम्म नेपालले अन्य मुलुकबाट सामान मगाउँदा भारतको हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको थियो । तर, अब नेपालले यस कार्यका लागि चीनको सेनझेन, ल्यानयुकाङ, झान्च्याङ र थ्यानचीन बन्दरगाह पनि पाएको छ । नेपालको सीमाबाट सबैभन्दा नजिक सवा ८ सय किलोमिटरमा कलकत्ताको हल्दिया बन्दरगाह पर्छ ।

विशाखापट्टनम १२ सय किमि रहेको छ । चीनले प्रयोग गर्न दिन लागेका कुनै पनि बन्दरगाह नेपाली सीमाबाट अढाइ हजार किमिभन्दा नजिक छैनन् ।

भन्न सकिन्छ, आयात–निर्यातका लागि नेपालले चीनका बन्दरगाहरुको प्रयोग गर्न सहज छैन, फलस्वरुप भारतीय बन्दरगाहमाथिको निर्भरता तत्काल प्रभावित हुन गाह्रो छ । तथापि, उत्तरी बन्दरगाहको उपलब्धताका कारण भारतसँगको पूर्णनिर्भरताको बाध्यता भने हट्नेछ । नेपाल–भारत सम्बन्ध पहिलापहिलाको जस्तो अब छैन भन्ने कुरा पछिल्ला दुई–तीन वर्षको उतारचढावले देखाइसकेको छ । नेपालले चीनसँग सम्झौता गर्नुलाई भारतसँगको सम्बन्धबारे आफ्नो धारणा बताएको रुपमा बुझ्न सकिन्छ ।

पछिल्ला ३ दशकमा यस्ता घटना भए, जब भारत भएर नेपाल जाने सामान दुई देशको सीमानाकामा लामो समय अड्केर रहन थाल्यो । यस्तो घटना पहिलो पटक सन् १९८९ मा भएको थियो । तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले नेपालमाथि दबाब दिन केही व्यापारिक नाका थुन्ने निर्णय गरेका थिए । र, दोस्रो पटक सन् २०१५ मा नेपालको तराई–मधेसमा आन्दोलन भएका बखत भारतले त्यस्तै नाकाबन्दीको अघोषित निर्णय गरिदियो । अघिल्लो वर्षको सुरुआतमै चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपालको भ्रमण गर्ने तयारीमा थिए । सिको भ्रमणको वातावरण पछिल्लो सम्झौतामार्फत् तयार पारिएको थियो । चीनसँग नेपाल नजिकिँदै गएको सन्दर्भलाई सम्हाल्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनेक कोसिस गर्दै आएका छन् । आशा गरौँ, नेपाल आगामी दिनमा भारत–चीन मित्रताको मुकाम बनोस् ।
नवभारत टाइम्समा सोमबार, भदौ २५ मा प्रकाशित सम्पादकीयको अनुवाद

Shares

Be the first to comment on "नेपाल चीनतर्फ ढल्केको भारतीय मिडियाको आरोप"

Leave a comment

Your email address will not be published.


*