मैनापोखरीबाट भुकम्प पीडितलाई किस्ता लिन सास्ती

दोलखा, ३१ जेठ – दोलखा गौरीशंकर गाउँपालिका वडा नं. २ जुँगूका नेत्रबहादुर जिरेल अघिल्लो हप्ता भुकम्प पीडितको पैसा लिन मेगा बैंकको शाखा मैनापोखरीमा पुगे । उनलाई तपाईको पालो हैन भनेर बैंकका सुरक्षाकर्मी भित्र छिर्ने दिएनन् । ३ घण्टाको यात्रा गरेर पछिल्लो हप्ता जाँदा पनि उनले त्यही नियती बैंकबाट भोग्नु प¥यो ।
जुँगूकै तिर्थकुमारी कार्की बैंकमा धाउन थालेको एक महिना भयो । दुवै जनाको घर बनेको ३ महिना बिति सकेको छ । तर बैंकबाट सरकारले दिएको अनुदान पाउनु र फलामको चिउरा चपाउनु उस्तै छ । भुकम्प पीडितको किस्ता लिन पाएको सास्तीले अहिले स्थानीयहरु बैंकको नाम सुन्ने बित्तीकै तर्सिने अवस्था छ ।
गौरीशंकर गाउँपालिका वडा नं. १ र २ का ६५० जनाको दोस्रो किस्ता र तेस्रो किस्ता गरी ९ करोड ५० लाख कोष तथा लेखा नियन्त्रण कार्यालयबाट गत बैशाख २६ गते नै निकासा गरेको हो । निकासा आएको एक महिना बढी समय बितिसक्दा समेत एक तिहाइलाई समेत बैंकले पैसा नदिएको गौरीशंकर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बसन्त कार्कीले बताए । यस्तै अवस्था हो भने माघ महिना घर बनाइ सकेका पीडितहरुले अर्को ३ महिनासम्म पनि भुक्तानी नपाउने अवस्था छ ।
साविकको टुरिज्म विकास बैंक मेगा बैंकमा गाभिएपछि बैंकबाट झन सास्ती झेल्नु परेको छ । “विगतमा दैनिक २ सय जनासम्मलाई भुक्तानी गर्न सकिन्थ्यो” बैंकका शाखा प्रमुख टंक भण्डारीले भने “अहिले हामी ५० जनाभन्दा बढीलाई भुक्तानी दिन नसक्ने अवस्थामा छौं ।” भुकम्प पीडित धेरै भएकाले बार छुट्याएर बोलाउने गरेको उनले बताए ।
मेगा बैंक मैनापोखरी शाखालाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बैत्यश्वर गाउँपालिका पूरै र गौरीशंकर गाउँपालिकाको वडा नं. १, २, ३ र ४ का १० हजार बढीका लागि बैंक तोकेको छ । सुरु देखि नै सहज रुपमा कहिले पनि किस्ता लिन नसकेको पीडितहरु बताउँछन् ।
भुकम्प पीडितहरुलाई बैंकहरुले दोस्रो दर्जाको नागरिकको व्यवहार गर्छन् । भित्र खाली नै हुँदा पनि व्यापारीको गोदाम घरको अध्यारो कुनामा लाइन राख्ने गरेका छन् । लाइन बस्न राती ३ बजे उठेर आएकी गौरीशंकर गाउँपालिका वडा नं. ४ गोर्पाङकी ङाडोमा शेर्पालाई मैनापोखरी पुग्न ६ घण्टा बढी लाग्छ । “६ घण्टा हिडेर आएँ, घरको बितेको काम छाडेर आएको तर अहिले बैंकले रित्तो अर्को दिन आउँनु भनेर फर्काको बताइन् ।
“बैंकमा भीड हुँदा हामी पनि कुरा बुझ्छौं लाइनमै बसेर पालो कुर्छौं” जुँगूको नेत्रबहादुर जिरेल भन्छन् “तर बैंकमा खाली भएको समयमा समेत कर्मचारीले पटक पटक फर्काए ।” बैंकमा खाली हुँदा पनि किस्ता लिनका लागि सोर्सफोर्स नै लगाउनु परेको अर्का भुकम्प पीडित महेश पौडेलले बताए ।
“म त सोर्स फोर्स लगाएर बैंक पुगें, त्यो दिन १० जना पीडित पनि लाइन थिएनन्” उनले भने “रुजु गर्ने काम विहान ११ बजे सकियो, तर कर्मचारीहरु हामीलाई लाइनमा राखेर मोबाइलमा फेसबुक चलाएर बसेर बाहिर गार्डलाई अरु पिडित फर्काउन लगाउने गरेको पनि देखियो ।” कर्मचारीले मात्र आलटाल नगरी काम गर्ने हो भने पनि आधा समस्या समाधान हुने पीडितहरुकै अनुभव छ ।
बैंक सबैलाई पायक पर्ने ठाउँमा हुनु पर्नेमा गोदामघरमा राखेको बताउँछन् । ३ तलामाथि गोदाम घरमा भएको कार्यालय पुग्न बुढाबुढी र अपाङ्गलाई झन सास्ती हुन्छ । व्यापारिक पसलबाट भित्र छिर्नुपर्ने कार्यालय भित्र अध्यारो छिडीबाट जानु पर्छ । त्यसमा पनि सबै व्यापारिक गोदामले बाटो हिड्न नसक्ने अवस्था रहेको स्थानीयहरु बताउँछन् ।
किस्ता लिनका लागि भुकम्प पीडितहरु धेरै दिन भोकै लाइन बस्नु परेको छ । विहान झिसमिसेमै आएर लाइन बस्न पीडितहरु आइपुग्छन् । कोही कोही उज्यालो हुनेवित्तीकै छिरेर राती ८ बजेसम्म मुखमा पानी समेत हाल्न नपाइ रित्ते फर्कने गरेको समेत देखिएको दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाका अध्यक्ष गंगाबहादुर बुढाथोकी बताउँछन् । “विहानै आयो लाइन बस्यो, लाइन छाड्दा अर्काले पालो मिच्ला भन्ने चिन्ता नछाड्दा भोकै पर्नु परेको अवस्था” उनले भने ।
बैंकहरुले भुकम्प पीडितका रकम बाँडेबापत पुर्ननिर्माण प्राधिकरणबाट प्रति व्यक्ति छुट्टै कमिसन समेत पाउँछन् । तर भुकम्प पीडितका करोडौं रकम आफैंले चलाउन पाउने भएकाले भुक्तानीमा विभिन्न बहानामा आलटाल गर्ने गरेको जनप्रतिनिधिहरुकै भनाई छ । बैत्यश्वर गाउँपालिका भित्र ७० प्रतिशत घरहरु तयार भइसकेका छन् । तर बैंकले नै किस्ता बैंकबाट लिनेको संख्या धेरै रहेका छन् ।
कुनै एउटा बैंकले किस्ता वितरण गर्न नसक्ने भए विकल्प खोज्न समेत आग्रह गरेको गौरीशंकर गाउँपालिकाका वडाध्यक्ष बसन्त कार्कीले बताए । गाउँका विकास निर्माणका र नीति निर्माणको काममा लाग्नु पर्ने बेला बैंकमा समेत लाग्नु पर्दा समस्या भएको उनले बताए । “घर ढिला बने भनेर निजी आवास पुर्ननिर्माणमा लागियो” अर्का वडा अध्यक्ष नेत्रबहादुर बस्नेतले भने “घर बनेर हरेक पटक किस्ता आउँछ फेरि जनतासँग बैंकमै आएर बस्नु पर्ने अवस्था छ ।” साविक झ्याँकू गाविस (हालको गौरीशंकर वडा नं. ३ र ४ का वडा अध्यक्ष बस्नेत र प्रह्लाद कार्की भुकम्पको किस्ता वितरणमा बैंकले ढिला गरेकाले पालैपालो बैंकमै बस्न बाध्य भएको बताए ।

Shares

Be the first to comment on "मैनापोखरीबाट भुकम्प पीडितलाई किस्ता लिन सास्ती"

Leave a comment

Your email address will not be published.


*