ध्वस्त पार्ने धम्कीदेखि सफल ऐतिहासिक सम्मेलनसम्म

काठमाडौं । गत वर्ष उत्तर कोरियाले अमेरिकासम्म पुग्न सक्ने हालसम्मकै शक्तिशाली मिसाइलको सफल परीक्षण गरेपछि अन्तर्राष्ट्रिय समुदायमा युद्धको सम्भावनाप्रति चिन्ता बढेको थियो । यस क्रममा अमेरिका र उत्तर कोरियाबीच निकै ठूलो भनाभन र अपमानजनक शब्दहरु साटासाट भए । दुवैले एकअर्कालाई ध्वस्त पारिदिने धम्कीसमेत दिइरहेका थिए । त्यतिबेला कसैले पनि आजको सम्मेलन यस प्रकारले सम्पन्न होला भन्ने सोचेको थिएन ।

तनावग्रस्त स्थितिमा पनि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तर कोरियाली खेलाडीहरुलाई प्योङछाङस्थित शीतकालीन ओलम्पिकमा संयुक्त टिमका रुपमा सहभागी हुन प्रस्ताव गरे । त्यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले पनि नयाँ वर्षको भाषणमा दक्षिणसँगको सम्बन्धमा सुधार ल्याउने इच्छा व्यक्त गरेका थिए । यसरी उत्तर कोरियाले मुनको सो प्रस्ताव स्वीकार गर्दै आफ्ना खेलाडीलगायत उच्च प्रतिनिधि टोलीलाई दक्षिण कोरिया पठाएपछि नै अन्तरकोरियाली सम्बन्धको सुरुवात भएको थियो । यस क्रममा दक्षिण र उत्तरका खेलाडीहरुले एउटै झण्डामुनि संयुक्त सहभागिता जनाएर नयाँ इतिहास रचेका थिए ।

त्यहीँबाट सुरु भएको उत्तर कोरियाको कूटनीतिक यात्रा अहिले अमेरिकी राष्ट्रपतिसँगको प्रत्यक्ष भेटसम्म पुगेको हो । यसबीच किमले पहिलो विदेश भ्रमणअन्तर्गत दुईपटक चीन पुगी राष्ट्रपति शी जिङपिङसँग भेट गरिसकेका छन् भने दक्षिण कोरियाली भूमिमा प्रवेश गर्ने उनी पहिलो उत्तर कोरियाली शासक पनि बनेका छन् । दुईपटकसम्म दक्षिणका राष्ट्रपति मुनसँग भेटवार्ता गरी विश्वसामु दुवैले निकट सम्बन्ध प्रस्तुत गरेका हुन् ।

कुनै समय असम्भव मानिएको जुन १२ को वार्ता आज सफलतापूर्वक सम्पन्न गराएर उत्तर कोरिया र अमेरिकाले नयाँ सम्बन्धको सुरुवात गर्ने प्रतिबद्धता जनाइसकेका छन् । पहिलोपटक

दुवैले एकअर्कासँग हात मिलाउँदै न्यानो अभिवादन साटासाट गरे । त्यसपछि भएको लामो कूटनीतिक छलफलपश्चात् दुवै एकसाथ खानपिन कार्यक्रममा सहभागी भए ।

खानपिन कार्यक्रमको अन्त्यपछि पनि ट्रम्प र किम दुवै एकसाथ होटलको परिसरमा कुरा गर्दै हिँडेको दृश्यले फेरि उपस्थित सबैलाई अचम्मित पारेको थियो । त्यसै क्रममा संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै ट्रम्पले यो सम्मेलन अपेक्षा गरेभन्दा धेरै सफल भएको बताए । उनले केही गम्भीर मुद्दामा दुवैले सम्झौता गर्ने तय भएको जानकारी पनि दिए ।
यसैसम्बन्धी आधिकारिक घोषणा गर्न ट्रम्प र किम एकसाथ बैठक कोठामा प्रवेश गरे र दुवैले केही कागजातमा हस्ताक्षर गरे । तर, के कुरामा सम्झौता भएको भन्नेचाहिँ अझै खुलासा भइसकेको छैन । यस विषयमा आजै पत्रकार सम्मेलनमा जानकारी गराइने बताइएको छ ।

कागजातमा हस्ताक्षर गरिसकेपछि ट्रम्पले आफूहरुबीच अत्यन्तै महत्वपूर्ण र विस्तृत सम्झौता भएको बताउँदै दुवै राष्ट्रहरुबीच राम्रो सम्बन्धको सुरुवात भइसकेको संकेत दिए । त्यसैगरी किमले पनि यस बैठकपछि विश्वले धेरै ठूलो परिवर्तन अनुभव गर्ने भन्दै यस्तो अवसर प्रदान गरेकामा ट्रम्पलाई धन्यवाद दिए ।

आगामी प्रक्रियामा छिट्टै काम सुरु हुने बताउँदै हात मिलाएर ट्रम्प र किम फेरि सँगै बाहिरिए । बाहिर आइसकेपछि पनि संचारकर्मीहरुसँग बोल्दै ट्रम्पले आजको कार्यका लागि आफूहरुले अत्यन्तै गर्व महसुस गरेको बताए । यस सम्झौतापछि सबै खुसी हुने र दुवै देशका लागि आजको कार्यक्रम उपलब्धीमूलक रहेको ट्रम्पको भनाइ छ । विश्व समुदायका निम्ति अमेरिका र उत्तर कोरियाले ठूलो निर्णय गरेको दुवै देशका प्रमुखले बताए ।

त्यसैबीच किमलाई ह्वाइटहाउस बोलाउनेबारे प्रश्न गर्दा ट्रम्पले भने, ‘अवश्य निम्ता गर्नेछु ।

संचारकर्मीहरुसँग केही समयको अन्र्तक्रियामा ट्रम्पले भने, ‘यसबीच हामीले एकअर्काबारे धेरै कुरा थाहा पायौँ । किम धेरै बुद्धिमानी व्यक्ति हुन् र उनी आफ्नो देशलाई ज्यादै माया गर्छन् । अब आगामी दिनहरुमा पनि हामी धेरैपटक भेटवार्ता गर्नेछौँ ।’

किम स्थानीय समयअनुसार आज बेलुका ८ बजे उत्तर कोरिया फर्कनेछन् भने ट्रम्प पनि आजै अमेरिकाका लागि प्रस्थान गर्नेछन् । यस सम्मेलनलाई सफल बनाउन प्रमुख भूमिका निर्वाह गरेका दक्षिण कोरियाली राष्ट्रपतिले भने उत्साह र डरका कारण आज रातभर सुत्न नसकेको टिप्पणी गरेका छन्

Shares

Be the first to comment on "ध्वस्त पार्ने धम्कीदेखि सफल ऐतिहासिक सम्मेलनसम्म"

Leave a comment

Your email address will not be published.


*