माथिल्लो तामाकोसी अब ४ प्रतिशत मात्र बाँकी,लागत झण्डै दोब्बर हुने

चरिकोट÷४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ९६ प्रतिशत निर्माण पूरा भएको छ । दोलखाको लामाबगरमा निर्माण भइरहेको आयोजना अन्तिम चरणमा पुगेको हो । अब आयोजनाको ४ प्रतिशत काममात्र बाँकी रहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए ।
उनका अनुसार लट(२ (हाइड्रोमेकानिकल वक्र्स) बाहेकका सबै कामको प्रगति तालिका अनुसार अघि बढेको छ । आयोजनाको बाँधमा रहने ४ गेटमध्ये २ वटा पूरा भएका छन् । २ वटा गेटको बाँकी काम साउनभित्र सम्पन्न गर्ने तालिका रहेको कम्पनीले जनाएको छ । खनेर सकिएको मुख्य सुरुङको ढलान भइरहेको छ ।
ठेकेदारले आगामी कात्तिकभित्र ढलान पूरा गरेर हस्तान्तरण गर्ने तालिका छ । आयोजनाको भेन्टिलेसन सुरुङको निर्माण भइरहेको छ । सबैभन्दा बढी प्रगति आयोजनाको विद्युतगृहमा भएको छ । ६ वटा युनिट राखेर विद्युत उत्पादन हुने आयोजनाका सबै युनिटको महत्वपूर्ण उपकरण जडान सकिएको छ । सिन्धुपाल्चोकको खाँडीचौरदेखि चरिकोटसम्मको खराब सडकका कारण हाइड्रोमेकानिकल उपकरण ढुवानीमा समस्या हुँदा काम प्रभावित भएको छ ।
सुनकोसीमा राखिएका उपकरण पालो पालो गरेर आयोजना स्थल पुर्याउन सुरु गरिएको छ । २०७५ पुसबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना पूरा गर्न ४९ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत नयाँ खिम्ती सबस्टेसनमा लगेर जोडिनेछ ।
सबस्टेसनसम्म आवश्यक ४७ किलोमिटर प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ । प्रसारण लाइनको १ सय २७ टावरमध्ये १ सय २३ वटाको फाउण्डेसन खनिएको छ । १ सय ६ वटा टावर ठडिएका छन् । करिब २० किलोमिटर दुरीमा तार तान्ने काम पूरा भएको कम्पनीले जनाएको छ । राष्ट्रिय गौरवको यो आयोजना पूरा भएपछि भारतमाथिको विद्युतको परनिर्भरता घट्ने अपेक्षा गरिएको छ ।

लागत झण्डै दोब्बर हुने

स्वदेशी लगानीमा निर्माणाधीन नेपालकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत ६५ अर्ब पुग्ने भएको छ । यो लागत लक्षितभन्दा झण्डै दोब्बर हो । आयोजना निर्माण सुरु हुँदा ब्याजसहित ४१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत झण्डै २४ अर्ब बढेर ६५ अर्ब रुपैयाँ पुग्ने भएको हो ।
सुरुमा ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान रहेकोमा भूकम्प, नाकाबन्दी, विदेशी मुद्रामा भएको बढोत्तरी लगायतको कारणले हाल ४९ अर्ब २९ करोड ५५ लाख पुगेको छ । “भूकम्प, नाकाबन्दी, विदेशी मुद्रा बढ्नु लगायतका कारणले लागत बढेर ४९ अर्ब २९ करोड पुगेको छ, यो ब्याजबाहेकको लागत हो,” अपर तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले भने, “ब्याजसहित करिब ६५ अर्ब पुग्ने देखिएको छ ।”
९६ प्रतिशत काम पूरा भएको आयोजना आगामी हिउँदभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका अनुसार सिभिल, हाइड्रोमेकानिकल, मेकानिकल तथा इलेक्ट्रिकल, प्रसारण तथा सवस्टेशन गरी चार लटका साथै प्रवेश मार्ग, निर्माण सुपरीवेक्षण परामर्श सेवा, प्रशासनिक खर्च, जग्गाको मुआब्जा तथा वातावरण व्यवस्थापन लगायतमा पहिलाको तुलनामा १७ प्रतिशत बढेर ४१ अर्ब २५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । सिभिल, हाइड्रोमेकानिकल, मेकानिकल तथा इलेक्ट्रिकल, प्रसारण तथा सवस्टेशनको लागत बढेर ३३ अर्ब ५६ करोड ९१ लाख तथा पहुँच मार्ग, पुर्वाधार, इन्जिनियरिङ, निर्माण अनुगमन लगायतको लागत ७ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाको लागि विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले २७ अर्ब ३८ करोड ३४ लाख लगानी गर्न लागेकोमा कम्पनीले थप ७ अर्ब ६२ करोड ५५ लाख ऋण थपका लागि अनुरोध गरिसकेको छ । स्वपुँजीतर्फ सर्वसाधारण र स्थानीयवासीको सेयरसहित ७ अर्ब ९४ करोड २५ लाख लगानी हुन लागेको छ । दोलखावासी र सर्वसाधारणका लागि भने सेयर दिन बाँकी छ । दोलखावासीलाई आगामी असारको दोस्रो साता तथा सर्वसाधारणका लागि आगामी साउनमा सेयर निष्कासन गर्न लागेको छ ।
आयोजना निर्माण गर्दा प्रतिडलर ८० रुपैयाँ रहेकोमा डलरको भाउ १ सय ८ रुपैयाँसम्म वृद्धि हुँदा ७ अर्ब ६ करोड ५७ लाख लागत बढेको छ । आयोजनाका अनुसार विदेशी ठेकेदार तथा परामर्शदाताहरूलाई विदेशीमा मुद्रामा भुक्तानी गर्दा नेपाल राष्ट्र बैकबाट स्वीकृति लिनुपर्ने र सोहीक्रममा १५ दिनसम्म लाग्ने व्यवस्था रहेकोमा गत आर्थिक बर्षको अन्त्यदेखि राष्ट्र बैकले सोझै स्वीकृति नदिइ विद्युत् विकास विभागबाट सिफारिस ल्याउनुपर्ने नयाँ नियम स्वीकृति गरेपछि तथा सटहीका लागि पटके सुविधा लिनुपर्ने व्यवस्थाले समेत आयोजनाको लागत महंगिदै गएको छ ।
सुरुमा १० प्रतिशत ब्याजदरमा आयोजना बनाउनका लागि कर्मचारी सञ्चय कोष लगायतबाट ऋण लिएको आयोजनाको ब्याजदर १२ प्रतिशतसम्म पुग्नु, भूकम्पको कारणले पहुँच मार्गमा क्षति पुगेपछि यसका लागि थप सुरुङ मार्गको निर्माण, खाडीचौरदेखि चरिकोटसम्मको सडक मर्मतमा ढिलाइ हुँदा ठूला उपकरण ढिला भएकाले पनि लागत बढ्दै गएको आयोजना स्रोतले जनाएको छ । सुरुमा आयोजनाले ऋणको ब्याज २५ प्रतिशत हुने अनुमान गरिएकोमा अहिले ४० प्रतिशत पुग्ने देखिएको छ ।
हिउँदभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएपनि लट नम्बर २ को काममा समेत हाइड्रोमेकानिकलको काममा ठेकेदार कम्पनीले ढिलाइ गर्दा समस्या आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भने वैकल्पिक उपायको खोजी गरेर तोकिएकै समयमा आयोजना निर्माण हुने बताउँछन् ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसी अब ४ प्रतिशत मात्र बाँकी,लागत झण्डै दोब्बर हुने"

Leave a comment

Your email address will not be published.


*