घाइतेको उपचार विगु गाउँपालिकाले गर्ने सहमति

सिंगटी – विगु गाउँपालिकाले मापदण्डअनुसारको सेफ्टीमा गैरजिम्मेवारी देखाउँदा विगू गाउँपालिका–४, लादुकको सिंगटीमा गम्भिर घाइते भएका बाल पवनजंग ठकुरीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विगु गाउँपालिकाले गर्ने सहमति भएको छ ।
घटनापछि यातायात सहित सिंगटी बजार बन्द गरी पीडित पक्ष र गाउँपालिका बीच भएको वार्ताले ३ बुँदे सहमति समेत गरेको छ । घाइते ठकुरीको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने, गैरजिम्मेवार भएको सिंगटी–साततले उपभोक्ता समिति खारेज गर्ने र व्यवस्थित ढंगले सडक विस्तार गर्ने ३ बुँदे सहमति शनिबार साँझ भएको विगु गाउँपालिकाका सूचना अधिकारी लेखानाथ चौलागाईंले जानकारी दिए ।
गाउँपालिका केन्द्र लादुक जोड्ने बाटो फराकिलो बनाउन एक्जाभेजर प्रयोग गरिए पछि नागरिकको सेफ्टीमा गैरजिम्मेवार भएको कारण सडक विस्तार गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर शनिवार दिउँसो विगु गाउँपालिका–४, लादुकका बालक पवनजंग ठकुरी गम्भिर घाइते भएका हुन् । सिंगटीबाट विगू गाउँपालिका जाने सडक विस्तारको क्रममा खोलिखिम बजारभन्दा माथिको घुम्तीमा एक्जाभेटरले काम गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा बजार नजिकमा हिड्दै गरेको बालक ठकुरी गम्भिर घाइते भएको सिंगटी प्रहरीले जनाएको छ ।
ढुङ्गाले टाउकोमा चोट लागेको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको स्थानीय दिनेश गुरुङले जानकारी दिए । सडक विस्तारको क्रममा सिंगटी खोलीखिममा केही दिन अघि विवाद समेत भएको थियो । विवादित ठाउँमा काम रोकेर अन्यत्र सडक विस्तार भइरहेको छ । खोलिखिम भन्ने ठाउँमा गुठीको जग्गामा जथाभावी बनेका घरले सडक साँघुरो भएको छ ।

Shares

Be the first to comment on "घाइतेको उपचार विगु गाउँपालिकाले गर्ने सहमति"

Leave a comment

Your email address will not be published.


*