दोलखा, –निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूरा हुन लाग्दा समेत विदेशी मुद्रा सटहीको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग गुहार मागेको छ । ४५६ मेगावाट क्षमताको स्वदेशी लगानीमा निर्माणाधिन आयोजना भए तापनि अधिकाँश भुक्तानी विदेशी मुद्रामै गर्नु पर्छ ।
आयोजनाले १० वर्ष अघिदेखि पटक पटक पहल गर्दा समेत विदेशी मुद्रा सटहीमा भएको समस्या जिउँकातिउँ भएपछि प्रधामन्त्री नै गुहार्नु परेको हो । आयोजनामा परामर्शदाता र निर्माण कम्पनीहरु विदेशी भएकाले भुक्तानी पनि अमेरिकी डलर र युरोमा गर्नु पर्छ ।
राष्ट्र बैंकले सटहीमा हैरानी गरेपछि आयोजना व्यवस्थापनले प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई गुहार्नु परेको छ । प्रधानमन्त्री ओली आयोजनास्थलको भ्रमणमा अघिल्लो साता आयोजनास्थल आएका बेला आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले सटही सुविधा सहज बनाइ दिन अनुरोध गरे ।
आयोजनामा कामको बील अनुसारको भुक्तानी समयमा नपाएको भन्दै पटक पटक ठेकेदार कम्पनीहरुले असन्तुष्टि जनाउँदै आएका छन् । यसले विभिन्न लटको काममा बेला बेलामा सुस्तता समेत देखिएको छ । यसको असर आयोजनाको प्रगतिमा देखिएको छ ।
आयोजनाको अवस्था स्थलगत रुपमा पुगेका प्रधानमन्त्री ओलीलाई आयोजनाका अधिकारीहरुले आयोजनाको मुख्य समस्या भनेको मुद्रा सटही र सडक नै भएको बताए । खाडीचौरदेखि चरिकोटसम्मको सडक विस्तारका क्रममा रहेकाले ढुवानीमा समस्या रहेको बताए । त्यस्तै लट २ को हाइड्रोमेकानिकलको ठेकेदार कम्पनीले पेनस्टक पाइप ढुवानी र जडानमा ढिलाइ गर्दा आयोजना नै ढिला हुने अवस्थामा पुगेको बताए ।
आयोजनास्थलको भ्रमणमा समस्या सुनेपछि राष्ट्रिय गौरवका आयोजनामा कुनै पनि निकायका कुनै पनि कर्मचारीले विभिन्न बहानामा अवरोध गर्नेलाई अब ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिए । राष्ट्र बैंकका जुनसुकै तहका कर्मचारीले अवरोध गरेको भए पनि अब कारबाही हुन्छ । ढुक्क भएर आयोजनाको काम गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएका थिए ।
आयोजनाको कामको प्रगति अनुसार बील र प्रमाण पत्र अनुसार परामर्शदाताहरुलाई विदेशी मुद्रामा भुक्तानी गर्नु पर्छ । तर हरेक पटक भुक्तानीका लागि नेपाल राष्ट्र बैंकको स्वीकृती लिनुपर्ने झन्झट छ । त्यसमा पनि भुक्तानीका लागि राष्ट्र बैंकले स्वीकृति दिनै १० देखि १५ महिना लगाउने गरेको आयोजनाका प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले जनाएको छ ।
विदेशी मुद्रा सटहीको समस्या सुरुदेखि नै भए तापनि आयोजना पूरा हुने बेलासम्म समाधान भएको छैन । आयोजनाको ठेक्का सम्झौता गरी औपचारिक निर्माण सुरु भएको ७ वर्ष पूरा भइसकेको छ । आयोजनाले विदेशी मुद्रा सटही सुविधा पाउनका लागि १० वर्ष अघि नै अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायतका निकायमा अनुरोध गर्दै आएको छ ।
आयोजनाकै अनुरोध बमोजिम २०६६ साउन २ गते अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयबाट २९ करोड ५९ लाख ५७ हजार ९८७ अमेरिकी डलरसम्मको सटही सुविधा दिएको थियो । तर त्यसमा पटके सुविधा लिनु नपर्ने व्यवस्था भए माथिल्लो तामाकोसी जस्ता आयोजनाहरुका लागि सजिलो हुने अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका कम्पनी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । त्यस कारण पनि समस्या जिउँकातिउँ छ ।
आयोजना व्यवस्थापन पक्षले विदेशी मुद्रा सटही सरल बनाउन पटक पटक विभिन्न निकायमा हारगुहार गर्दा समेत समाधान हुन सकेन । यस बारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट २०७३ जेठ ३० गते नेपाल राष्ट्र बैंकलाई आवश्यक सहयोग गरिदिनका लागि छलफल समेत गरी दियो । त्यसबाट समस्या समाधान हुनेमा आयोजना पक्ष ढुक्क भयो तर समस्या फेरि उही भए ।
८ महिनासम्म निवेदनको सुनुवाइ भएन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आवश्यक सहयोग गरिदिन गरेको अनुरोध भए अनुसार आयोजनाले २०७४ असोज ८ गते सटही सुविधाका लागि पेश गरेको छ । तर निवेदन ८ महिना वितिसक्दा समेत स्वीकृती पाउन नसकेको आयोजना पक्षले बताएको छ । आयोजनाको सिभिल निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र परामर्शदाता कम्पनीलाई मासिक रुपमा र अन्यलाई आवधिक रुपमा (३÷४) महिनामा बील अनुसार भुक्तानी गर्नु पर्छ ।
कम्पनी सचिव रामसुन्दर श्रेष्ठले भने ‘हामीले निवेदन दिएपछि ताकेता पनि जारी राखेका छौं, हेरौं चाडौं समाधान हुन्छ होला ।’ तर राष्ट्र बैंकका शाखा र महाशाखाहरुमा नया पदाधिकारीहरु फेरिदा स्वीकृति पाउँन झन ढिलाइ हुने गरेको छ ।
विदेशी मुद्रा सटहीको समस्या माथिल्लो तामाकोसीमा मात्र नभएर अन्य ठूला आयोजनाहरु पनि हैरान छन् । समस्या लिएर सल्लाह लिन आउन धेरै आयोजनाहरुलाई आफ्नो आयोजनाले अपनाएका विधि सहितका सल्लाह दिने गरेको उनले बताए ।
आयोजनाको सिभिल निर्माणका लागि चीनको सिनो हाइड्रो कर्पोरेशनले काम गरिरहेको छ । उसलाई ३५ प्रतिशत नेपाली रुपैया र ६५ प्रतिशत अमेरिकी डलरमा भुक्तानी गर्नु पर्छ । सिनोसँग २०६७ साउन १६ मा ठेक्का सम्झौता भएको हो । उसले २०७१ चैतसम्म काम पूरा गर्नु पर्ने थियो । विभिन्न कारणले समयमा काम पूरा हुन नसकेपछि पहिलो पटक २०७३ असोज १४ र दोस्रो पटक २०७५ असार १६ सम्मको म्याद थप भएको छ ।
त्यस्तै हाइड्रोमेकानिकल ठेक्काका लागि भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इञ्जिनियरिङ लिमिटेडसँग २०६८ फागुन १६ गते ठेक्का सम्झौता भएको हो । २०७२ बैशाखमा काम पूरा गर्नु पर्ने भए तापनि उसको पनि पहिलो पटक म्याद थप भएर २०७५ असारसम्म पु¥याएको छ । उसलाई पनि २९ करोड २० लाख नेपाली रुपैंयामा र १ करोड ५ लाख ७४ हजार युरोमा भुक्तानी गर्नु पर्छ ।
मेकानिकल तथा इलेक्ट्रिकलका लागि अष्ट्रियाको एन्द्रिज हाइड्रो जिएमबीएच, प्रसारण लाइन तथा सवस्टेशनको भारतको केइसी इन्टरनेशनल लिमिटेड रहेका छन् । आयोजनाको अन्तिम डिजाइन, आयोजना व्यवस्थापन मुख्य लटहरुको प्राविधिक सुपरिवेक्षणका लागि परामर्शदाताको रुपमा नर्वे र जर्मन कम्पनी नरकन्सल्ट एएस÷ल्याहमेर इन्टरनेशनल जेभीले पाएका छन् । उनीहरुको भुक्तानी पनि २५ प्रतिशत नेपाली रुपैंया र बाँकी डलरमै गर्नु पर्छ ।
Be the first to comment on "विदेशी मुद्रा सटही समस्या निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना समाधानमा प्रधानमन्त्रीिलाई गुहार"