खाडिचौर–चरिकोट सडक २ वर्षमा ५० प्रतिशत मात्र

चरिकोट–ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण विस्तार भईरहेको खाडीचौर–चरिकोट निर्माण पूरा गर्ने समयमा ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । सडक विस्तार योजना निर्माण पूरा गरी हस्तान्तरण गर्ने समयमा पछिल्लो समय कामको गति सुस्त भएको छ ।
सडक विस्तारको काम सुस्त भएर यात्रुहरुले सास्ती भोग्नु परेपछि आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायि पक्ष बीच भएको संवाद कार्यक्रममा सडक विस्तार आयोजना प्रमुख केदार नेपालले निर्माण व्यवसायिहरुकै कारण कामको प्रगति हुन नसकेको जानकारी दिए । काममा ढिला भएपछि दोलखा र सिन्धुपाल्चोकका नवनिर्वाचित सांसद, गाउँपालिका अध्यक्षहरु, आयोजना पक्ष, परामर्शदाता र निर्माण व्यवसायीहरु बीच संयुक्त छलफल आयोजना भयो ।
एक्जिम वैंक अफ इडियाको ऋण लगानीमा सरकारले विस्तार गरिरहेको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि दोलखा र रामेछापका दैनिक हज्जारौं यात्रुहरु उक्त बाटोमा कष्टकर यात्रा गर्न बाध्य छन् । कार्यक्रममा दोलखाबाट निर्वाचित प्रतिनिधि सभा सांसाद पार्वत गुरुङले बहाना नबनाई समयमा काम पूरा गर्न आग्रह गरे । सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरेस नेपालले अप्ठ्यारो काम भए जनप्रतिधिहरुलाई समाधान गर्ने तर काममा ठग्न नपाइने बताए ।
अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको खाडीचउरबाट शुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौर देखि चरिकोटसम्मको ५५ किलोमिटर खण्ड २ प्याकेजमा भइरहेको छ । पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए तापनि समयमा काम नसकिएपछि एक वर्ष म्याद थप भएको छ । थपिएको समयमा पनि थप रकम नपाएको भन्दै ४ महिनादेखि रोकिएको काम केही दिन यता पुनः सुरु गरेको छ ।
पहिलो प्याकेजको खाडीचउरदेखि मुडेसम्म २५ किलोमिटरमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरु गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रुपमा ठेक्का पाएका छन् । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएकोमा ६० प्रतिशत भुक्तानी भइसकेको छ । त्यस्तै दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटरको लागि भारतिय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ ।
दुवै ठेक्का अन्र्तराष्ट्रिय बोलपत्र अनुसार सम्झौता भएको आयोजना प्रमुख नेपालले जानकारी दिए । दोस्रो प्याकेजको सुरु ठेक्का सम्झौता २०१८ मार्चसम्म हो । तर पहिलो प्याकेजमा पनि समय थप भएकाले दोस्रो प्याकेजमा पनि केही समय थप हुने उनले बताए ।
सडकको परामर्शदाता कम्पनी इटेको नेपालका टिम लिडर राजाराम काफ्लेले चरिकोट क्षेत्रको केही विद्युत पोल हटाउने बाहेक सडक विस्तारमा कुनै पनि समस्या नभएको बताए । भुकम्पपछिको ढिलाइ र चुनावका कारण काममा ढिलाइ भएको उनले बताए ।
सडक विस्तार सुरुमा साँढे ५ मिटर चौडाइ बनाउने गरी ठेक्का सम्झौता भए तापनिपछि ७ मिटरको सडक चौडाइ बनाउने योजना अनुसार भेरियसन भएको हो । ठेक्का सम्झौताभन्दा बढी कामको भुक्तानीका लागि १५ प्रतिशतसम्म सडक विभाग र सोभन्दा माथिको लागि मन्त्रालयबाटै मूल्याङ्कन हुने जानकारी दिए । २ प्याकेज मध्ये सबैभन्दा बढी पहिलो प्याकेजमा र २५ देखि ४० किलोमिटर क्षेत्रमा भएको बताए ।
० देखि ९ किलोमिटरसम्म जमिनको केही कमजोर भु–बनौट भएकाले त्यहाँको थप पहिरोको थप मूल्याङ्कन गर्न समय लाग्ने भए पनि अन्य क्षेत्रको बाँकी काम गर्न निर्माण व्यवसायीलाई उनले आग्रह गरे । आउँदो जेठसम्म पहिलो ९ किलोमिटर र अन्तिम १५ किलोमिटर कालोपत्रे गर्न सकिने भए तापनि अन्य काममा भने गाह्रो भएको बताए ।
ठेवा वाल, कटिङ, नाली लगायतका संरचना बनाउन समय लाग्ने भएकाले ग्राभेल विच्छाउन र कालोपत्रे गर्न काम छिटो हुने बताए । ग्राभेलका लागि दुवै ठाउँमा क्रसर स्थापना भइसकेको छ ।
दोस्रो प्याकेजका आधिकारिक ठेकेदार प्रतिनिधि दिपक सापकोटाले ८ महिना थप भए सम्पूर्ण काम पूरा हुने प्रतिबद्धता गरे । २५ देखि ४० किलोमिटरसम्म आफ्नो आन्तरिक व्यवस्थापन भएकाले मिलाउने बताए । पहिलो प्याकेजका आधिकारिक प्रतिनिधि धर्मराज भण्डारीले भुक्तानी र साइड पाउन समय लागेको बताए ।
चरिकोटदुवै जिल्लाका जनप्रतिनिधि सहितको टोलीले बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक लगायतलाई सडकको काम चाँडो पूरा गराउन डेलिगेशन नै गरेका छन् । उनीहरुले खाडीचौर चरिकोट सडकको काम अबरुद्ध हुँदा माथिल्लो तामाकोसी जलविद्युत आयोजना लगायतका आयोजनामा सामान ढुवानीमा समेत समस्या परेकाले समस्या समाधानका लागि आग्रह गरे ।

Shares

Be the first to comment on "खाडिचौर–चरिकोट सडक २ वर्षमा ५० प्रतिशत मात्र"

Leave a comment

Your email address will not be published.


*