म सधै शान्ति, स्थिरता र विकास चाहने मानिस हुँ ,म नीति र सिद्धान्तमा विश्वास गर्छु

नेकपा एमालेका केन्द्रिय सदस्य पार्वत गुरुङ बाम गठबन्धनको तर्फबाट दोलखाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्

पार्वत गुरुङ

बाम गठबन्धनको तर्फबाट दोलखाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार

नेकपा एमालेका केन्द्रिय सदस्य पार्वत गुरुङ बाम गठबन्धनको तर्फबाट दोलखाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । नेकपा एमालेको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, जिल्ला अध्यक्ष हुदै अहिले केन्द्रिय सदस्य रहनु भएका गुरुङ २०७० सालको संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।  राजनीतिका चतुर खेलाडि गुरुङलाई समन्वयकारी नेताको रुपमा समेत हेर्ने गरिन्छ । तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शुसील कोईरालाको दोलखा भ्रमणको क्रममा एमाले अध्यक्षको हैसियतले पार्टी कार्यालयमा लगेर भव्य स्वागत गरेका गुरुङले असल राजनीतिक चरित्र प्रर्दशन गरेको भनेर सबैतिरबाट प्रशंसीत भएका थिए । लगतै एमाले अध्यक्ष केपी ओलीको दोलखा भ्रमणको क्रममा नेपाली कांग्रेसले गुरुङकै नीति अवलम्बन गर्दै ओलीलाई भव्य स्वागत गरेको थियो ।
प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमाले दोलखाका शसक्त दावेदार पशुपति चौलागाई र आनन्दप्रसाद पोखरेललाई उछिनेर उम्मेदवार बनेका गुरुङलाई पार्टी भित्र शक्तिसाली नेताको रुपमा हेर्न थालिएको छ । एमाले भित्र पशुपति चौलागाई र आनन्दप्रसाद पोखरेल बीच बेला बेलामा राजनीतिक विवाद हुदा मध्यस्तता गर्ने गुरुङले एमालेबाट जनजाति नेताहरुले बिद्रोह गर्दा त्यसको कडा ढंगले प्रतिवाद गर्दै जनजाति नेता कार्यकर्तालाई एमालेमै राख्न उल्लेख्य भुमिका खेलेका थिए ।
प्रतिनिधि सभा निर्वाचनमा उनको प्रमुख प्रतिद्वन्द्वि नेपाली कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्कासंग उनको विशेष सम्बन्ध रहेको चर्चा समेत हुने गरेको छ । खड्का कांग्रेस सभापतिमा उठ्दा गुरुङले सघाएको र गुरुङ एमाले अध्यक्ष उठ्दा खड्काले सघाएको चर्चा समेत हुने गरेको छ । यो निर्वाचनमा पनि दुबै जनाले एक अर्कोलाई व्यक्तिगत रुपमा आलोचना नगर्ने सहमति गरेको दुबैका निकटतमहरुले बताउने गरेका छन् ।
१) दोलखा जिल्लामा विगतका दिनहरुमा एमाले र माओवादी केन्द्र बीच नै मुख्य प्रतिस्पर्धा थियो अहिले एकताबद्ध भएर अगाडि बढ्ने अवस्था छ त ?
– एमाले र माओवादी केन्द्र बीचको यो गठबन्धन अहिलेको निर्वाचनको लागिमात्र बनाईएको गठबन्धन हैन । यो मुलुकमा एउटामात्र कम्युनिष्ट पार्टी बनाउन सुरु गरिएको अभ्यासको एउटा रुप हो त्यसैले यो गठबन्धनमा एमाले र माओवादी केन्द्र दुबै पार्टीका नेता कार्यकर्ता इमान्दार पाईएको छ ।
२) माओवादीको १० बर्षे द्वन्द्व देखि दोलखामा एमाले र माओवादी कार्यकर्ता बीच राजनीतिक समस्या रहदै आएको छ, स्थानिय तहको निर्वाचनमा पनि एमाले र माओवादी केन्द्रको लडाईकै कारण एक युवाले ज्यान गुमाउनु प¥यो यस्तो अवस्थामा दुई दल बीच कसरी सहमति हुन सक्ला र ?
स्थानिय निर्वाचनको क्रममा दोलखाको जुँगुमा एमाले कार्यकर्ताको हत्या पछि परिस्थिति असहज भएको थियो । त्यो घट्ना अहिले अदालतमा पुगेकोले त्यसको बारेमा बोल्नु उपयुक्त हुदैन । तर अहिले घट्नाका पीडक र पीडित परिवारले कानुनी फैसला मान्ने सहमति साथ कम्युनिष्ट एकता र दोलखाको समृद्धिको लागि बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रियताका साथ हातेमालो गर्दै अगाडि बढ्ने समझदारी गरेका छन् ।
जहाँसम्म १० बर्षे जनयुद्ध ताका एमाले र माओवादीको सम्बन्धको कुरा छ त्यो विषयमा उमालेले त्यतिबेलानै प्रतिवाद गरेको कुरा हो । र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेले नै मुख्य भुमिका खेलेको हो । त्यसैले अब त्यो विषयलाई जोडिराख्नु आवश्यक हुदैन । नेपालमा सुरुमा एउटामात्र कम्युनिष्ट पार्टी थियो र अहिले एमाले माओवादी केन्द्रले एउटामात्र कम्युनिष्ट पार्टी बनाउने अभियान सुरु गरेको छ । यो बेला अन्य कुरामा अल्झिनु आवश्यक छैन । अबको आवश्यकता भनेको कम्युनिष्ट पार्टीहरुको एकता र मुलुकको समृद्धि तथा विकासमात्र हो ।
३) दोलखाको विकासको लागि तपाईको प्राथामीकता र एजेण्डा चाहि के के हुन नी ?
दोलखाको विकास र समृद्धिको लागि पहिलो प्राथामीकता पर्यटन नै हो । दोलखाको पर्यटकीय विकासको लागि जिल्लालाई शिक्षा, स्वास्थ्य र जलश्रोतको हव बनाउनु पर्छ । सदरमुकाम चरिकोटमा माउण्टेड फ्लाईटको लागि एयरर्पोट निर्माण गर्नु, कृषिको विकासको लागि आधुनिकीकरणसंगै अग्र्यानिक उत्पादनमा जोड दिनु, नेपाल चिन र भारत बीच ब्यापारीक मार्गको लागि उत्तर दक्षिण सडक निर्माण गर्नु मेरो प्राथमीकता हुन् ।
४) तपाईले गुण्डागर्दीलाई प्राथमीकता दिएको आरोप लागेको छ नी ?
म सधै शान्ति, स्थिरता र विकास चाहने मानिस हुँ । कसले के लेख्छ, कसले के भन्छ त्यो ठूलो कुरा हैन । म नीति र सिद्धान्तमा विश्वास गर्छु र मेरो लक्ष्य भनेको शान्ति, स्थिरता र विकास नै हो । मैले गुण्डागर्दीलाई प्राथामीकता दिएको भनेर कांग्रेसको जुन नेताले आरोप लगाए भन्ने समाचार आएको थियो त्यसको खण्डन कांग्रेसका तीनै नेताले गरिसकेका छन् । त्यसैले यसको बारेमा धेरै भनिराख्नु आवश्यक ठान्दिन ।

प्रस्तुतिः चिरञ्जीवी मास्के

Shares

Be the first to comment on "म सधै शान्ति, स्थिरता र विकास चाहने मानिस हुँ ,म नीति र सिद्धान्तमा विश्वास गर्छु"

Leave a comment

Your email address will not be published.


*