देशमा पछिल्लो समय धेरै परिवर्तन आएको छ ःमन्त्री काफ्ले

चरिकोट(दीस) –बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले देशमा पछिल्लो समय धेरै परिवर्तन भएको बताउनु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको मंगलबार उद्घाटन गर्नु हुदै उहाँले सो धारणा व्यक्त गर्नु भएको हो । मन्त्री काफ्लेले शिक्षा र स्वास्थ्यमा अहिले समानता रहेको उल्लेख गर्दै सरकारले मौलिक हकका सन्दर्भमा नागरिकहरूको अपेक्षा पूरा गर्न नसकेको धारणा व्यक्तगर्नुभयो । उहाँले तीनै तहका सरकारले मिलेर पूर्वाधार र सामाजिक विकासका काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । देशमा अहिले शासन व्यवस्था जनतामा रहेको उल्लेख गर्दै उहाँले देशलाई सुधार्ने वा बिगार्ने जिम्मा जनताकै हातमा रहेको बताउनुभयो । मन्त्री काफ्लेले २०४६ सालपछि देशमा धेरै परिवर्तन आएको दाबी गर्दै केही शक्तिहरूले निराशा फैलाउने प्रयास गरिरहेकोले त्यस प्रति जनता चनाखो हुनु पर्ने धारणा व्यक्त गर्नु भयो । संविधानले जनतालाई अधिकार दिएकाले त्यो अधिकार प्रयोग गर्न आफै जागरुक हुनु पर्ने उहाँको भनाई रहेको छ । अर्को प्रसंगमा लापिलाङको पहिरो नियन्त्रण संवेदनशिल विषय भएको सबै मिलेर काम गर्नु धारणा व्यक्त गर्नु भएको थियो । भवन उद्घाटन समारोहमा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी , वडा अध्यक्षहरू लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । मंगलबार नै मन्त्री कालिञ्चोक गाउँपालिकामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको समेत उद्घाटन गर्नु भएको थियो ।

Shares

Be the first to comment on "देशमा पछिल्लो समय धेरै परिवर्तन आएको छ ःमन्त्री काफ्ले"

Leave a comment

Your email address will not be published.


*