तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत

चरिकोट (दीस) ः दोलखामा रहेको माथिल्लो तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्याहरू समाधान गर्नका लागि दोलखाका प्रमुख राजनैतिक दलहरूबीच सहमति भएको छ । शनिबार दोलखा सदरमुकाम चरिकोटमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा “माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पन्न चुनौतिहरू, समस्या, र समाधानका उपायहरूको विषयक सर्वपक्षीय तथा सर्वदलीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनीहरु बीच सो सहमति भएको हो । छलफलमा आयोजनाका समस्याहरू जस्तै भूकम्प, कोभिड, डलरको मूल्य वृद्धि, र व्याजदरको प्रभावका कारण लगानी बढेको, कम्पनीको ऋण भुक्तानीमा रहेको चुनौतीलाई समाधान गर्न आफ्नो क्षेत्रबाट पहल गर्ने सहमति भएको छ । आयोजनाको अवधि थप गर्न, ऋणको व्याजदर घटाउन, र विद्युत खरिद–विक्रि सम्झौतामा पुनरावलोकन गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्न आफ्नो क्षेत्रबाट काम गर्न पहल गर्न दोलखाका राजनीतिक दलहरूले सहमत भएका हुन् । आयोजनामा शेयर हालेका धेरै नागरिकको शेयर डिम्याट खातामा जान नसकेको गुनासो आएकाले त्यसलाई समाधान गर्न दलहरु लाग्ने प्रतिवद्धता जनाएका हुन् ।
नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले दोलखाली नागरिकको लगानीमा निर्माण भएको तामाकोसी हाइड्रो कम्पनीका समस्याहरू समाधान गर्न पहल भइरहेको बताउनुभयो । नेकपा एमालेका अध्यक्ष नरबहादुर श्रेष्ठले आयोजनाको रोल्वालिङ ड्राईवर्सन काम छिटो अघि बढाउन र त्यसमा पारदर्शिता राख्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्र दोलखाका प्रवक्ता पुष्कर अधिकारीले आयोजनामा चोरी भएको क्रेनको छानबिन गरी दोषीलाई कारबाही गर्नु पर्ने बताउनु भयो । राप्रपा नेपाल दोलखाका अध्यक्ष नवराज श्रेष्ठले तामाकोसी जलविद्युत आयोजनामा रहेको समस्यालाई समाधान गर्न आयोजनाका अधिकारीहरुलाई सुझाव दिनु भयो । छलफलमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरूले आयोजनामा कर्मचारीहरूमाथि विभेद भएको, रोल्वालिङ ड्राइभर्सनको काममा ढिलाइ भएको, र सुरुङभित्र चोरी भएको सामानको अनुसन्धान नगरेको विषयहरू उठाउनु भएको थियो । अन्तरक्रियामा उठेको प्रश्नको जवाफ दिनु हँुदै माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले आयोजनालाई नाफामा लैजान पीपीए ( पुनरावलोकन गर्ने, ब्याजदर घटाउने, र रोल्वालिङ ड्राइभर्सनको काम छिटो सम्पन्न गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपाली कांगे्रस दोलखाका सभापति बर्मा लामा अध्यक्षतामा सम्पन्न भएको अन्तरक्र्रिया कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, माओवादी केन्द्रका प्रवक्ता पुष्कर अधिकारी, रास्वपा अध्यक्ष दिनेश बस्नेत, राप्रपा दोलखाका कार्यवाहक सभापति विष्णु श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठ, जिसस प्रमुख वर्जुराम घतानी , प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल,सरकारी अधिकारीहरु ,राजनैतिक दलका प्रतिनिधीहरु , तामाकोसी हाइड्रो कम्पनीका उच्च अधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, र पत्रकारहरूको उपस्थिति रहेको थियो ।
माथिल्लो तामाकोसी हाइड्रो कम्पनीले निर्माण गरेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सूरुमा ३४ अर्बमा निर्माण हुने गरी निर्माण थालनीको भएपनि भूकम्प तथा कोभिडका कारण आयोजना निर्माणमा ढिलाई हँुदा आयोजनाको लागत बढेर त्यसको लगानी निर्माण सम्पन्न हुने बेलासम्म ८९ अर्ब पुगेको थियो ।

 

 

Shares

Be the first to comment on "तामाकोसी हाइड्रो कम्पनीमा रहेको समस्या समाधान गर्न दोलखाका राजनैतिक दल सहमत"

Leave a comment

Your email address will not be published.


*