दोलखामा धार्मिक पर्यटकहरुको संख्या बढ्यो

दोलखा ः प्रसिद्ध भीमेश्वर मन्दिरको भीमेश्वर शिलामा पसिना आएपछि दोलखा आउने धार्मिक पर्यटकहरुको संख्या बढेको पाइएको छ । देशमा अनिष्ट हुने वा परिवर्तनको संकेतको रुपमा भीमेश्वरको शिलामा पसिना आउने धार्मिक विश्वासका रुपमा पछिल्लो एक महिनामा भीमेश्वर मन्दिरमा दर्शन तथा पूजा गर्न आउने धार्मिक पर्यटकहरुको संख्या बढेको पाइएको हो ।
पर्यटकहरू धैरे आउने सिजन नभएपछि एक महिनामा धैरै धार्मिक पर्यटकहरूले भीमेश्वरको दर्शन गरेका भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । शिलामा पसिना आएपछि राजकीय पूजादेखि भारतका चर्चित धार्मिक गुरु काली बाबाले सम्म क्षमा पुजा गर्नु भएको छ । यस्तै नागरिक बचाऊ आन्दोलनका प्रमुख दुर्गा प्रसाइ पनि एक हप्ताअघि आफ्ना दलबलसहित भीमेश्वरमा क्षमा पुजा गर्न आउनु भएको थियो । भारतका चर्चित बाबाहरूको उच्चस्तरीय भ्रमणले भारतीय पर्यटकहरू दोलखा ल्याउनका लागि सहयोग पुग्ने बताइन्छ । कालिबाबा भीमेश्वरमा पुजा गर्न आउनाले भारतमा समेत यो मन्दिरको महिमाको बारेमा स्वभाविक रुपमा चर्चा हुने स्थानीयहरुको भनाई छ । धार्मिक पर्यटक मन्दिर दर्शनका लागि दोलखा आउँदा स्थानीय व्यापार व्यवसायमा पनि सहयोग पुगेको छ । भीमेश्वर अवस्थित रहेको दोलखा शहर पुरातात्विक शहर पनि भएकाले यसलाई थप प्रचार प्रसार गर्नु पर्ने दोलखाका पर्यटन व्यवसायीहरुको भनाई रहेको छ । भीमेश्वरको शिलामा एक महिनाघि दुई पटक पसिना आएको थियो । सिलमामा पसिना आएको यो २१ औं पटक हो । दायाँ पट्टिबाट पसिना आउँदा राज्य सञ्चालक पक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरूले तान्त्रिक विधिबाट क्षमा पुजा गर्ने गरेका छन् । भीमेश्वर मन्दिर आउने धार्मिक पर्यटकहरूलाई नै लक्षित गरेर दोलखा बजारमा सुविधा सम्पन्न एक दर्जन बढी होटल खुलेका छन् ।

 

Shares

Be the first to comment on "दोलखामा धार्मिक पर्यटकहरुको संख्या बढ्यो"

Leave a comment

Your email address will not be published.


*