खानेपानी वितरण सेवालाई असर गर्ने कार्य नगर्न अल्पकालिन आदेश

चरिकोट (दीस) ः जिल्ला अदालत दोलखाले चरिकोटमा खानेपानी वितरण सेवालाई असर गर्ने कुनै पनि कार्य नगर्न तथा नगराउन अन्तरिम अल्पकालिन आदेश जारी गरेको छ । मंगलबार जिल्ला न्यायाधिश माधव सुवेदीको एकल इजालसले विपक्षिका नाममा यो आदेश दिएको हो ।
खानेपानीको विवादलाई दुबै पक्ष विचको छलफलले निष्कर्षमा पुग्नु पर्ने भएका कारण बैशाख २४ गतेसम्म खानेपानी वितरण सेवालाई असर गर्ने कुनै कार्य नगर्न÷नगराउन र पूर्ववत रुपमा संचालन रहेका मुहानहरुलाई असर पर्ने गरी कुनै पनि कार्य नगर्न÷नगराउन अदालतले अन्तरिम अल्पकालिन आदेश दिएको छ ।
“मानव जीवनसँग जोडिएको खानेपानी जस्तो संवेदनशिल बिषय भएकोले मिति २०८१÷०१÷२४ को छलफल नहुँदासम्म खानेपानी वितरण सेवालाई असर गर्ने कुनै कार्य नगर्न÷नगराउन र पूर्ववत रुपमा संचालन रहेका मुहानहरुलाई असर पर्ने गरी कुनै पनि कार्य नगर्न÷नगराउन मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ बमोजिम यो अल्पकालिन अन्तरिम आदेश जारी दिएको छ ।” अदालतको आदेशमा भनिएको छ ।
भीमेश्वर नगरपालिका वडा ५ बस्ने स्थानीय विजय बस्नेतले जिल्ला अदालत दोलखामा भीमेश्वर नगरपालिका, चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई समेत विपक्षि बनाई मुद्दा दायरा गर्नु भएको थियो । उहाँको पक्षबाट अधिबक्ता कृष्ण बस्नेत , राजेन्द्र श्रेष्ठ , सुव्बा श्रेष्ठ र रामदेबी श्रेष्ठले बहस गर्नु भएको थियो ।
सदरमुकाम चरिकोटमा रहेको चरिकोट खानेपानी उपभोक्ता तथा सरसफाई समिति र चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बीच २ वटा खानेपानी एकीकरण सम्बन्धमा विवाद हुदै आएको छ । सरसफाई समितिमा चरिकोट बजारमा खानेपानी वितरण गर्ने पुरानो समिति हो जसको नेतृत्व बद्री श्रेष्ठले गर्नु भएको छ । त्यसैगरी चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था साना शहरी ऋण लिएर निर्माण भएको आयोजना हो जसको नेतृत्व रामकृष्ण के.सी.ले गर्नु भएको छ । यी समितिको विवादका कारण चरिकोटमा केही दिन देखी खानेपानी वितरणमा समस्या हुदै आएको छ । नगरपालिकाले पटक पटक खानेपानीको समस्या समाधान गर्न छलफल गरे पनि त्यसलाई निष्कर्षमा पु¥याउन सकेको छैन । यी खानेपानी दुवै पानीको मुहान एउटै भएका कारण विवाद रहेको छ । केही समय अघि चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले निर्माण गरेको खानेपानीको वितरण प्रणाली परीक्षण गर्न चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पानी प्रयोग गर्दा चरिकोटवासीका धारामा पानी नआएपछि समस्या उत्पन्न भएको थियो । यसपछि पुनः चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिकै लाईनबाट पानी वितरण भइरहेको छ भने चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पनि पानी वितरण गरिरहेको छ । तर मुहान एउटै तथा खानेपानी समिति दुईवटा हुँदा चरिकोटका स्थानीयहरु पानीको अभाव भोग्न बाध्य भएका छन् ।

Shares

Be the first to comment on "खानेपानी वितरण सेवालाई असर गर्ने कार्य नगर्न अल्पकालिन आदेश"

Leave a comment

Your email address will not be published.


*