नाँ र बेदिङमा हेलिप्याड

चरिकोट(दीस)ः गौरीशंकर गाउँपालिका वडा नम्बर नौ को नाँ र बेदिङ गाउँमा हेलिप्याड निर्माण गरिएको छ । पर्यटकका लागि लक्षित गरी सो हेलिप्याडहरु निर्माण गरिएको हो  ।
हेलिप्याड निर्माण पछि च्छोरोल्पा हिमताल र रोल्वालिङ क्षेत्र भ्रमणमा जाने पर्यटकलाई तथा स्थानीहरुको आपतकालिन उद्धारलाई समेत सहयोग पुग्ने वडाध्यक्ष निमगेली शेर्पाले बताउनु भयो ।
यातायातको कुनै पनि बैकल्पिक साधन नभएको रोल्वालिङ क्षेत्रमा आपतकालीन उद्धारका लागि हेलिकप्टरको प्रयोग हुन्छ । रोल्वालिङ क्षेत्रमा नाँ र बेदिङ दुई गाउँ भएकाले गाउँपालिकाले दुवै ठाउँमा हेलिप्याड निर्माण गरेको हो ।
नाँ च्छोरोल्पा हिमताल निकट गाउँ हो । च्छोरोल्पा हिमताल, दूधकुण्ड हेर्न जाने पर्यटकहरु नाँ गाउँ पुगेर बस्ने गर्दछन् । त्यस्तै च्छोरोल्पा हिमताल हुँदै टासिलाप्चा पास गरेर सोलुखुम्बुको नाम्चे जाने पर्यटक पनि यही गाउँ हुँदै जाने गर्दछन् । ६ हजार मिटरसम्मका हिमाल आरोहण र हिमाल आरोहणको अभ्यासका लागि पनि रोल्वालिङ क्षेत्रमा पर्यटक जाने गर्दछन् ।
हेलिप्याड बनेपछि राहत र उद्धारमा सजिलो हुने गौरीशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष निमगेली शेर्पाको भनाई रहेको छ । हेलिकप्टर आउँदा समेत बस्ने ठाउँ नहुँदा खर्च बढी हुने गरेको स्थानीयहरुको गुनासो बढेपछि हेलिप्याडको निर्माण गरिएको उहाँको भनाई रहेको छ  हेलिप्याड निर्माणका लागि गाउँपालिकाले पाँच लाख लगानी गरेको तथा नपुग स्थानीयले श्रमदान गरेको उहाँले जानकारी दिनुभयो ।
नाँ र बेदिङ सगरमाथा आरोहीको गाउँको रूपमा समेत चिनिन्छ । हालसम्म यहाँका ५६ जनाले सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथा आरोहणबाटै यहाँका शेर्पाले विभिन्न विश्व कीर्तिमान कायम गरेका छन् ।

Shares

Be the first to comment on "नाँ र बेदिङमा हेलिप्याड"

Leave a comment

Your email address will not be published.


*