जिरी महोत्सवको तयारी पूरा

चरिकोट (दीस) ः “जिरी महोत्सव २०८० ”को अन्तिम तयारी पूरा भएको आयोजकले बताएको छ । सदरमुकाम चरिकोटमा सोमबार पत्रकार सम्मेलन मार्फत आयोजकले तयारी पूरा भएको मुख्य आयोजक जिरी उद्योग वाणिज्य संघले जनाएको हो ।
दोलखाको जिरीमा चैत २३ गतेदेखि २०८१ वैशाख २ गतेसम्म १० दिन महोत्सव हुन लागेको हो । जिरी उद्योग बाणिज्य संघ दोलखाको मुल आयोजनामा हुन लागेको महोत्सवको “नेपालको स्विटजरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक, कृषि, पर्यटन, संस्कृति छन् आधार ” मूल नारा रहेको छ ।
महोत्सवमा एकसय वटा स्टल राखिने भएको छ । महोत्सव ५० हजारले अवलोकन गर्ने, एक करोड आम्दानी हुने र करिब ४५ लाख खर्च हुने अपेक्षा राखिएको जिरी उद्योग बाणिज्य संघ अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनु भयो । महोत्सवमा विज्ञबाट जिरीको विकासलाई टेवा पुग्ने शैक्षिक, सांस्कृतिक, आर्थिक, विकास लगायतका बहस चलाइने उहाँले बताउनु भयो ।
जिरीको ब्यावसाय चलायमान गराउन दोस्रो पटक जिरीमा महोत्सव गर्न लागिएको उहाँको भनाई रहेको छ । जिरीभित्रका पर्यटकीयस्थललाई गन्तव्यको रूपमा विकास गर्न, स्थानीय मौलिक उत्पादनको प्रचारप्रसार, सहभागीलाई पृथक मनोरञ्जन प्रदान गर्नु, व्यावसायिक चेतना अभिवृद्धि गर्नुलगायत महोत्सवको उद्देश्यहरु रहेका छन् । मनोरञ्जनकालागि प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ । महोत्सवमा स्थानीय परिकार, भेषभूषा झल्कने वस्तुको स्टल राखिने बताइएको छ । जिरीका खानाका स्थानीय परिकार बजारमा राखिनेछ ।
जिरीको विभिन्न स्थानमा रहेको पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज सहितको भ्रमणको व्यवस्था मिलाईने बताइएको छ । महोत्सवमा जिरी क्षेत्रमा गुराँस, चिमाल, सुनखरी, चौरी, बन्यजन्तु, हिमश्रृखला, चिया र लोक्ता, किवि खेती, रन्वो ट्राउट र कालिज पालनको प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइने आयोजकको भनाई रहेको छ । जिरी महोत्सवमा दोलखाका नौ वटै स्थानीय तह र छिमेकी रामेछापका जिल्लाका २ वटा स्थानीय तहका साथै विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ । जिरीमा १२ बर्ष अगाडी पनि जिरी महोत्सव गरिएको थियो । जिरीमा हुन लागेको यो महोत्सव दोस्रो महोत्सव हो ।

Shares

Be the first to comment on "जिरी महोत्सवको तयारी पूरा"

Leave a comment

Your email address will not be published.


*