विद्यार्थीको फेरिएको दैनिकीः पढाइसँगै व्यावहारिक सीप

चरिकोट ः विद्यार्थीका लागि सदरमुकाम भीमेश्वर नगरपालिकाका माध्यमिक विद्यालय तहका विद्यालयमा हिजो आज पढाइसँगै व्यावहारिक सीपका कारण उनीहरुको दैनिकि फेरिएको छ । भीमेश्वर नगरपालिकाका करिब तीन हजार पाँच सय विद्यार्थी अहिले व्यावहारिक सीप प्रशिक्षणमा सहभागी छन् । विद्यालय समय पछिको अवधिमा सञ्चालित व्यावहारिक सीप प्रशिक्षण निकै उपलब्धि मूलक रहेको सहभागी विद्यार्थीको भनाई छ । नगरपालिकाको सहकार्यमा कोच नेपालले सुरु गरेको यो प्रशिक्षण मुख्यतः तीन विषयमा केन्द्रित रहने जनाइएको छ । यही फागुन २० गतेदेखि सुरु भएको सो प्रशिक्षण आगामी चैत २ गतेसम्म चल्ने छ । आयोजक कोच नेपालका संयोजक सिमोन खत्रीले भन्नुुभयो, “प्रशिक्षणमा मुख्यतः तीन विषय विपद्, आत्मरक्षा र प्राथमिक उपचारका सम्बन्धमा प्रशिक्षित गरिने छ ।” कोच नेपालका संयोजक एवं प्रशिक्षक सिमोन खत्रीका अनुसार विपद्अन्तर्गत घरमा हुने ग्यास सिलिन्डर विस्फोट, आगलागी, भूकम्प, बाढी पहिरो, चट्याङजस्ता प्राकृतिक प्रकोपका घटनामा अपनाउनुपर्ने सतर्कता, उद्धारलगायतका विषयमा प्रशिक्षण गरिने छ । आत्मरक्षामा आफ्नो सुरक्षाका लागि गर्नुपर्ने उपायका बारेमा र प्राथमिक उपचारमा विभिन्न दुर्घटना, प्राकृतिक प्रकोप, आकस्मिक स्वास्थ्य समस्याको अवधिमा गर्नुपर्ने प्राथमिक उपचारका बारेमा प्रशिक्षण गरिने छ । विद्यालयस्तरमै विपद् व्यवस्थापनको विषयमा जानकारी दिँदा घरमा हुने विपद्जन्य घटना न्यूनीकरणमा सहयोग पुग्ने र प्राथमिक उपचारको विषयमा विद्यार्थीलाई सीप प्राप्त हुने विश्वासका साथ कोच नेपालसँगको सहकार्यमा प्रशिक्षण तथा तालिम कार्यक्रम आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताउनुुभयो । व्यावहारिक सीप प्रशिक्षण नगरपालिकाका नौवटा वडाका १२ विद्यालयमा सञ्चालन भइरहेको र त्यसमा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी रहेको संयोजक खत्रीले बताउनुुभयो । कोच नेपालले विगत दुई वर्षअघिदेखि सो नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई आत्मरक्षा, विपद् व्यवस्थापन र प्राथमिक उपचारको व्यावहारिक सीप सिकाउँदै आएको र दोलखाका अन्य विद्यालयमा पनि यस्ता प्रशिक्षण तथा तालिम कार्यक्रम सञ्चालन गरिने संयोजक खत्रीको भनाइ छ ।कोच नेपालले दुई वर्षको अवधिमा दोलखाका अलवा काठमाडौँ, ललितपुर र भक्तपुरका सामुदायिक तथा निजी विद्यालयमा व्यावहारिक सीप प्रशिक्षण सञ्चालन गरेको संयोजक खत्रीले जानकारी दिनुभयो । दुई वर्षको अवधिमा उपत्यका र दोलखाका झन्डै ८२ विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थीलाई व्यावहारिक सीपअन्तर्गत विपद्, आत्मरक्षा र प्राथमिक उपचारका विषयमा प्रशिक्षण गराएको संयोजक खत्रीले बताउनुुभयो ।

Shares

Be the first to comment on "विद्यार्थीको फेरिएको दैनिकीः पढाइसँगै व्यावहारिक सीप"

Leave a comment

Your email address will not be published.


*