मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु

सिन्धुपाल्चोक ः मेलम्ची नगरपालिकाको वडा नं ११ को बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । आइतबारबाट बजार क्षेत्रमा सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन नगरपालिकाले सुरु गरेको हो । पालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको नगरपालिकाले जनाएको छ । गत पुस २६ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले बजारका अव्यवस्थित संरचना हटाउने निर्णय गरेको थियो । त्यसपछि नगरपालिकाले यस्ता संरचना हटाउन ३५ दिने सुचना जारी गरेको थियो । तर त्यो सुचनाको पनि बेवास्ता गर्दै अटेर गरेर केही स्थानीयले नहटाए पछि डोजर लगाएर हटाइएको नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले जानकारी दिनुभयो । मेलम्ची बजारमा एक सय भन्दा बढी घरले सडकपेटी अतिक्रमण गरी संरचना बनाएको नगरपालिकाको भनाई रहेको छ । नगर प्रमुख आइतमान तामाङले नगरपालिकाले मेलम्ची बजार क्षेत्रमा मिचिएका संरचना हटाउन सूचना जारी गरेको र नगरको आग्रहलाई वेवास्ता गर्नेहरुको संरचना भत्काउने कार्य अगाडी बढाइएको बताउनु भयो । मेलम्ची बजारलाई व्यवस्थित बनाउनका लागि मेलम्ची ११ का वडाध्यक्ष तामाङको अध्यक्षतामा बजार व्यवस्थापन समिति बनाइएको थियो । सोही समितिको बैठकले अबैध संरचना भत्काउने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार ३५ दिने सूचना नगरपालिकाले जारी गरेको थियो । सोही सुचनाका आधारमा अधिकांश स्थानीय तथा व्यापारीले स्वतःस्फूर्त रूपमा अतिक्रमित अस्थायी संरचना हटाउदै नगरपालिकाको अभियानलाई सफल बनाउन साथ दिएका थिए । तर नगरपालिकाको सूचनाको अटेर गर्ने एक दर्जनबढी संरचना माथि नगरपालिकाले डोजर चलाएको प्रमुख तामाङले जानकारी दिनु भयो । अतिक्रमित संरचना हटाउँदा सडक फराकिलो हुनुका साथै बजार सुन्दर देखिएको स्थानीयको भनाई रहेको छ ।

Shares

Be the first to comment on "मेलम्ची बजारका अनाधिकृत संरचना हटाउन सुरु"

Leave a comment

Your email address will not be published.


*