फैसला कार्यान्वयनका क्रममा ५ हजार तीनसय ६४ जना पक्राउ

काठमाडौँः चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ । केद्रीय प्रहरी समाचार कक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार तीन सय ६४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साथै उनीहरूलाई तोकिएको रु एक अर्ब १९ करोड ८४ लाख ४९ हजार तीन सय ६१ जरिवाना असुल उपर गरिएको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा करिब तीन सय १३ प्रतिशतले बढी हो । सो अवधिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट ५४ जना, काठमाडौं उपत्यकाबाट ६ सय १३ जना, कोशी प्रदेशबाट आठ सय २५ जना, मधेश प्रदेशबाट एक हजार ७ सय ९७ जना, बागमती प्रदेशबाट पाँच सय २२ जना, गण्डकी प्रदेशबाट चार सय ४७ जना, लुम्बिनी प्रदेशबाट नौ सय १६ जना, कर्णाली प्रदेशबाट ८३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ७ जना पक्राउ परेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन हजार एक ५० जना पक्राउ परेका थिए । कर्तव्य ज्यान, लागुऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरी फैसला कार्यान्वयनलाई तीव्र गतिमा अघि बढाएको अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताउनुभएको छ ।

प्रहरीले बुझायो दुई सय ५२ जनाका हराएका मोटरसाइकल
नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा फेला पारी धनीलाई हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा सवारी साधनधनीलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार १७ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ । प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका १२ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ भट्टले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म चोरीका २० सवारी साधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । (रासस)

Shares

Be the first to comment on "फैसला कार्यान्वयनका क्रममा ५ हजार तीनसय ६४ जना पक्राउ"

Leave a comment

Your email address will not be published.


*