काभ्रेमा बर्सेनि सुन्तला उत्पादनमा गिरावट

काभ्रेपलाञ्चोक ः यहाँ बर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको पाइएको छ । पछिल्ला केही वर्षदेखि जिल्लामा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञानकेन्द्र धुलिखेलले जनाएको छ । यस वर्ष पनि उत्पादनमा गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताउनुभयो । उहाँका अनुसार रोग कीराका कारण केही वष यता लगातार सुन्तला उत्पादनमा दुई प्रतिशत हाराहारीमा गिरावट हुँदै आएको तथ्याङ्कले देखाएको छ । केही वर्षअघिसम्म काभ्रेपलाञ्चोकमा बर्सेनि सात हजार मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको थियो। जिल्लाको करिब एक हजार दुई हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक रुपमा खेती हुँदै आएको आएको छ । गतवर्ष छ हजार पाँच सय १४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । “यसवर्ष पनि सुन्तला उत्पादनमा केही प्रतिशतसम्म कमी आउने प्रारम्भिक अनुमान गरेका छौँ”, महतले भन्नुभयो । विसं २०७२ को गोर्खा भूकम्पपछि निरन्तर सुन्तला उत्पादनमा ह्रास हुँदै आएकोे केन्द्रको तथ्याङ्कले देखाएको छ । विशेषगरी सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएका धुलिखेल र पनौती नगरका केही क्षेत्रमा यसवर्ष पनि सुन्तला उत्पादनमा गिरावट आउने प्रक्षेपण गरिएको महतले बताउनुभयो । “हामीले ती नगरका कृषि शाखाबाट जानकारी लिँदा विगतका वर्षभन्दा कमी नै उत्पादन भएको देखिएको जानकारी गर्नुभएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार उत्पादनका क्षेत्र बढाइए पनि उत्पादनमा भने कमी आइरहेकाले विशेष अनुसन्धानका लागि सरोकारवाला निकायमा फसल परीक्षणका लागि पठाइएको छ । सुन्तलामा लाग्ने विविध रोग निराकरणमा किसान र कार्यालयबीच समन्वय नहुँदा समस्या उत्पन्न हुँदै आएको जनाइएको छ । महतले भन्नुभयो, “किसानले फलका बिरुवा रोपेपछि खासै ध्यान दिएको पाइँदैन, यसकारण विविध रोगले अक्रमण गरेपछि निराकरणमा समस्या उत्पन्न हुन्छ, जसका कारण उत्पादनमा कमी हुँदै जाने हो, अन्य कारण पनि खोज्दैछौँ ।” यसैबीच विविध रोगका कारण सुन्तला उत्पादनमा आएको गिरावटका कारण जिल्लाका किसान चिन्तित देखिएका छन् । काभ्रेपलाञ्चोकको मुख्य उत्पादनको पकेट क्षेत्र पनौती नगरपालिका(१० पस्थलीका किसान प्रेमबहादुर तामाङले उत्पादनमा कमी हुँदै गएपछि अब सुन्तला बगैँचा फाँड्नुको विकल्प नभएको बताउनुभयो । “अब सुन्तलाको बगैँचा काटेर तरकारी लाउनुकोे विकल्प छैन, हामीले यही बगैँचाबाट वार्षिक रु चार लाखसम्मको सुन्तला बेचेका थियौँ, तर अहिले रु एक लाख पनि पाउन मुस्किल हुने भयो”, उहाँ भन्नुहुन्छ । विगत केही वर्षदेखि रोगकै कारण सुन्तला उत्पादनमा कमी आएको उहाँको अनुभव छ । यस्तै धुलिखल(१० शङ्खुका किसान शिवप्रसाद आचार्य सुन्तलाको उत्पादनमा कमी आएपछि आयस्रोतको अरु विकल्प खोज्नुपर्ने बाध्यता हुँदै गएको बताउनुहुन्छ । उहाँका अनुसार सुन्तलाका बोट कुहिने, सुक्ने तथा फलेको सुन्तला पनि रसिलो नहुने जस्ता समस्या देखिएपछि उत्पादनमा कमी हुँदै गएको हो । रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि केन्द्रले प्राविधिक सल्लाह तथा आवश्यक औषधि र चुन वितरण गर्ने गरिएको अधिकृत महतले बताउनुभयो । उहाँका अनुसार गत वर्षसम्म जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको थियो । यसका कारण बोटमा रहेका सुन्तलामध्ये १० प्रतिशत कुहिएर झर्ने गर्दछन् । जिल्लाभर समस्याकैरुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियन्त्रण गर्न एक÷दुई किसानले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या समाधान गर्ने अभियानकैरुपमा लाग्नुपर्ने आवश्यकता देखिएको बताइन्छ । सुन्तलाजन्य जुनार, मौसम, भोगटे, निबुवा, विमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको ंसङ्क्रमण फैलिएको हो । रोग सङ्क्रमित भएर बोटबाट झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थितरूपले व्यवस्थापन गर्न आवश्यक रहेको सापकोटाको भनाइ छ । “सुन्तला उत्पादनमा गिरावट हुनु रोग नै प्रमुख कारण हो”, महतले भन्नुभयो । काभ्रेपलाञ्चोकको नमोबुद्ध, पनौती, बल्थली, सारदाबतासे, कुशादेवी, ¥याले, पस्थली र खरिबोटलगायतका स्थान सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । (रासस)

Shares

Be the first to comment on "काभ्रेमा बर्सेनि सुन्तला उत्पादनमा गिरावट"

Leave a comment

Your email address will not be published.


*