वन्यजन्तु पहिचानका लागि क्यामेरा ट्रयापिङ

चरिकोट(दीस)ः दोलखाको उत्तरी क्षेत्र लप्चीका वस्तिमा पस्ने जंगली जनावरको पहिचानका लागि क्यामेरा ट्रयापिङ सुरु गरिएको छ । हिम चितुवा , हिमाली भालु लगायतका जनावरहरुले दुःख दिन थालेपछि गौरिशंकर संरक्षण क्षेत्र आयोजनाले क्यामेरा ट्रयापिङ सुरु गरेको हो ।
विगु गाउँपालिका वडा नम्बर एकमा रहेको दुर्गम गाउँ लप्चीमा हिमचितुवा तथा हिमाली भालुले दुःख दिएको स्थानीयहरुको गुनासो बढेकोले लप्ची क्षेत्रमा १५ थान क्यामेरा जडान गरेको गौरिशंकर संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी तुल्सीप्रसाद दहालले जानकारी दिनुभयो । लप्चीमा हिमाली भालुले घर समेत फोडेर अन्नपात खाईदिने स्थानीय वासिन्दाहरुको गुनासो रहेको ले क्यामेरा जडान गरिएको उहाँको भनाई रहेको छ ।
४६ घरधुरीको बसोवास रहेको लप्चीमा पछिल्लो समय हिमचितुवाले चौरी तथा घोडा शिकार गर्ने तथा हिमाली भालुले घर फोडेर अन्नपात खाइदिने गरेपछि स्थानीयहरु त्रसित भएका छन् । मानव बस्तीमा पस्ने वन्य जन्तु पहिचानका साथै बन्य जन्तु गाउँ प्रवेश गर्ने नाका पहिचान पछि यो समस्या समाधान गर्न सकिने संरक्षण क्षेत्रको भनाई छ । लप्ची हुँदै ३३ केजी सुन भित्रिएको सुन तस्करी प्रकरण सार्वजनिक भएसँगै सुनको भुक्तानी स्वरुप कस्तुरीको विना समेत दिइने गरेको पाइएकोले यो क्षेत्रमा वन्य जन्तुको अबैध शिकार हुने गरेकाले नियन्त्रण लागि समेत क्यामेरा ट्रयापिङ उपयुक्त हुने संरक्षण क्षेत्रको भनाई रहेको छ ।
कस्तुरी मार्गको रुपमा रहेको लप्ची पछिल्लो समय मानवीय अतिक्रमण बढ्दै गएका कारण जंगली जनावार मानव बीच द्वन्द बढ्दै गएको अध्ययनका क्रममा पाईएको सूचना अधिकारी दहालले बताउनु भयो । सो क्षेत्रमा जलविद्युत आयोजना निर्माणाधिन रहेको सन्दर्भमा सडक निर्माण, सो को क्रममा गरिने विष्फोट आदी कारणले बन्य जन्तुको बासस्थानमा असर परेकोले पनि मानिस र वन्य जन्तु बीच द्वन्द्व बढ्न पुगेको उहाँले बताउनु भयो । आहाराको कमीको कारण जंगली जनावरहरु मानव वस्तिमा पस्ने गरेको विज्ञहरुको भनाई रहेको छ । गौरिशंकर संरक्षण क्षेत्र आयोजनाले जङ्गली जनावरले हानी नोक्सानी पु¥याए क्षेतिपूर्ती दिने व्यवस्था समेत गरेको छ ।

Shares

Be the first to comment on "वन्यजन्तु पहिचानका लागि क्यामेरा ट्रयापिङ"

Leave a comment

Your email address will not be published.


*