माथिल्लो तामाकोशी हाइड्रो पावरको शेयर निरन्तर ओरालो

चरिकोट(दीस)ः राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत अयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावर कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । हकप्रद शेयर खुल्ला भएको बेला तामाकोशीको शेयर निरन्तर ओरालो लागिरहेको हो ।
कुनै समयमा अधिकतम् मुल्य ९सय ४ रुपैयाँसम्म पुगेको माथिल्लो तामाकोशीको शेयर सोमबार दुईसयमा कारोवार भएको नेप्सेको तथ्याङ्क छ । हकप्रद शेयर जारी गरेपछि दायित्व बढ्ने हुँदा शेयर को मूल्य केही घट्नु सामान्य भएपनि माथिल्लो तामाकोशी जस्तो राष्ट्रिय गौरवको आयोजनाको शेयर खरिद कर्ताले खरिद गर्न नरुचाउनुको अर्थ यो आयोजनाले छिटै लाभ दिन्छ भन्नेमा लगानीकर्ताहरु विश्वस्त हुन नसक्नु मुख्य कारण रहेको शेयर बजार विश्लेषकहरुको भनाई रहेको छ ।
अपर तामाकोशी हाइड्रो पावर अहिले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरेको छ । हकप्रद शेयरका लागि यही असोज ७ गतेसम्म आवेदन दिन पाइने छ  । कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रदका लागि ३८६ रुपैयाँ १० पैसामा तामाकोशीको शेयर बुक क्लोज भएको थियो । शेयर मूल्य समायोजनपछि २४३.०५ रुपैयाँ भएको थियो । तर, अहिले तामाकोशीको शेयर प्रतिकित्ता २०० मा आइपुगेको छ । हकप्रद शेयर पनि बजारमा आएपछि बजारमा यसको मूल्य अझै घट्ने सम्भावना धितोपत्र बजार बुझेका लगानीकर्ताहरुको भनाई छ ।
स्वदेशी लगानीमा निर्माण भएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वित्तीय संस्थाबाट लिएको ऋण तिर्न र २०.६६ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणका लागि हकप्रद शेयर जारी बताएको छ । हाल माथिल्लो तामाकोशी आयोजनाले दोहोर अंकमा ऋणको ब्याज तिर्दै आएको छ । त्यसरी उच्च ब्याजदरमा लिएको ऋण हकप्रद शेयर जारी गरेर तिरेपछि लगानीकर्तालाई विस्तारै लाभांश वाँडने योजना कम्पनीको छ । तर कहिलेबाट कम्पनी लाभांस बाँड्ने अवस्थामा पुग्छ भन्ने एकिन साथ भन्न नसकिने विश्लेषकहरुको भनाई छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोशी हाइड्रो पावरको शेयर निरन्तर ओरालो"

Leave a comment

Your email address will not be published.


*