संस्थापकहरुबाट अपर तामाकोसी हाईड्रोपावरको हकप्रद शेयर बापतको रकम चुक्ता

चरिकोट(दीस)ः संस्थापक शेयर धनीहरुबाट ब्यहोर्नु पर्ने हकप्रद शेयरको रकम अपर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरूले चुक्ता गरेका छन् । कम्पनीका संस्थापकहरू क्रमस नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम चुक्ता गरेका हुन् ।
संस्थापकहरूले कुल ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेको माथिल्लो तामाकोशी हाईड्रो पावर कम्पनीले जानकारी दिएको छ । कम्पनीले भदौ १८ गतेदेखि सेयरधनीहरूलाई १ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद शेयर निष्काशन बताएको छ ।
कुल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक सेयर रहेको छ । सेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख र २१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरेका हुन् । रकम चुक्ता भइसकेपछि सेयरको बाँडफाँड पनि भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरूको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ  । सर्वसाधारणतर्फबाट भने ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्नेछ । यसरी सबै लगानी कर्ताबाट हकप्रद सेयरबापतको रकम संकलन भइसकेपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाव्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणमा खर्च गरिने कम्पनीका सिइओ मोहन प्रसाद गौतमले जानकारी दिनुभयो  । रोलवालिङ डाइभर्सनको निर्माण पछि पानी कम हुने हिउँद याममा जलाशयमा अतिरिक्त पानी थपिने छ जसबाट पिकआवरमा २१ मेघावट विद्युत उत्पादन बढाउन मद्दत पुग्ने छ । कम्पनी द्वारा प्रवर्धन गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको क्षमता ४५६ मेगावाट रहेको छ । हक प्रद शेयरको लागि दोलखाका स्थानीय शेयरका लागि दोलखाका विभिन्न बैकबाट हाल्न सक्ने व्यवस्था गरिएको छ । यसैबीच, कम्पनीको पन्ध्रैँ वार्षिक साधारणसभा गत बुधबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको आर्थिक वर्ष (आव २०७८÷७९)को वार्षिक प्रतिवेदन, सोही आवको वासलात,नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतलाई पारित गरेको कम्पनीले जनाएको छ । यो आयोजना स्वदेशी लगानीमा सम्पन्न भएको ठुलो आयोजना हो । २०६४ साल देखी निर्माण सुरु भएको यो आयोजना २०७८ सालमा निर्माण सम्पन्न भएको थियो । सुरुमा ४ बर्ष भित्र आयोजना निर्माण सक्ने लक्ष्य राखेको यस आयोजना भूकम्पका कारण निर्माणमा ढिलाई भएको थियो । आयोजना निर्माणमा ढिलाईका कारण पनि ३३ अर्वमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको यो आयोजनाको लागत तेव्बर भएको थियो ।

Shares

Be the first to comment on "संस्थापकहरुबाट अपर तामाकोसी हाईड्रोपावरको हकप्रद शेयर बापतको रकम चुक्ता"

Leave a comment

Your email address will not be published.


*