दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल भ्रष्टाचार सम्बन्धी पाँचवटा मुद्दामा दोषी ठहर

चरिकोट ÷काठमाडौ (दीस) ः दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचारका पाँचवटा मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । मंगलबार विशेष अदालतका न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले पाँचवटा मुद्दामा रिजाललाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल विरुद्व २० माघ २०७६ मा पाँचवटा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो । रिजाललाई एक मुद्दामा एक वर्ष कैद तथा ४ लाख रुपैयाँ जरिवाना र उति नै रकम बिगो असुल उपर हुने सजाय सुनाइएको छ । तत्कालिन समयका सिडिओ रिजालले विगु गाउँपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मी र स्थानीय महिलाबीचको झगडा मा घुस लिएका थिए । पुरुष कर्मचारीसँग महिलासम्बन्धी केस लाग्छ, जागिर जान्छ भन्ने त्रास देखाई धरौटी रकम भनेर झुक्याएर चार लाख रुपैयाँ रिजालले लिएका थिए । यस्तै अर्को मुद्दामा पनि ३५ हजार रुपैयाँ घुस लिएको दोषी ठहर गर्दै विशेषले ३५÷३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने फैसला गरेको छ साथै रिजाललार्य तीन महिना कैदको सजाय तोकेको छ । रिजाललाई अर्को मुद्धामा पाँच महिना कैद र ७७ हजार ६ सय जरिवाना तथा उति नै रकम बिगो भराउने विशेष अदालतको फैसलामा भनिएको छ । त्यसैगरी अर्को एक मुद्दामा ९०÷९० हजार रुपैयाँ बिगो र जरिवाना तथा पाँच महिना कैद सजाय तथा अर्को मुद्दामा ४०÷४० हजार रुपैयाँ बिगो र जरिवाना तथा तथा चार महिना कैद हुने फैसला गरिएको छ ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजालले भेड्पुका कुमार लामा मोक्तानसँग २०७६ मंसिर १८ गते १ लाख २५ हजार घुस लिएको भन्दै उनले सञ्चार माध्यमलाई बताएसँगै घुस लिएको समाचार सञ्चारमाध्यममा आएको थियो । त्यस्तै कालिञ्चोक गाउँपालिकाको एक मुद्धामा बुहारीलाई तातो पानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुछोरा उदिम तामाङ र इन्द्र बहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले १ लाख २५ हजार घुस लिएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजालले घुस लिएको समाचार प्रकाशन भए पछि उनलाई गृहले निलम्बन गरेको थियो ।
रिजालले जिल्ला प्रशासन कार्यालयकै कर्मचारीलाई समेत विश्वास गर्दैनथे । जिल्ला प्रशासनको मताहतमा रहेको कार्यालयको छड्के जाँच गर्ने कर्मचारीहरु पठाउँदा समेत उनी कार्यालयका कर्मचारीको विश्वास नगरी आफ्ना सुरक्षा कर्मचारी पछि लगाउने गर्दथे । घुस लिएको विरण सार्वजनिक भएपछि उनले पत्रकारहरुलाई पनि सो समाचार नलेखिदिन आग्रह गरी ब्यक्तिगत रुपमा प्रलोभन दिने समेत कोशिस गरेका थिए । पहिले अख्तियारमा काम गरेर आएका रिजाल भ्रष्टाचार निवारण र सुशासन सम्बन्धि प्रशिक्षण दिने क्रममा आफू निक्कै अब्बल दर्जाको प्रशिक्षक भएको दावी सार्वजनिक रुपमै गर्दथे ।

Shares

Be the first to comment on "दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल भ्रष्टाचार सम्बन्धी पाँचवटा मुद्दामा दोषी ठहर"

Leave a comment

Your email address will not be published.


*