शुक्रवारलाई अतिरिक्त क्रियाकलाप संचालन बारका रुपमा ब्यवस्थित गरिने

नवराज शिवाकोटी,
चरिकोटः भीमेश्वर नगरपालिकाले नगर भित्रका विद्यालयमा शुक्रवारलाई अतिरिक्त क्रियाकलाप संचालन बारका रुपमा ब्यवस्थित गर्ने घोषणा गरेकोछ । विहिवार सार्वजनिक गरिएको नगरको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा उक्त कुराको घोषणा गरिएको हो ।
भीमेश्वर नगरपालिकाको तेस्रो नगरसभामा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भीमेश्वर नगरपालिकाका उप्रमुख कमला बस्नेतले नगर भित्र संचालित विद्यालयहरुमा “आइतवारदेखि विहीबार पढ्नै पर्छ तर शुक्रवार एक दिनलाई कक्षा कोठा पर” भन्ने नाराकासाथ शुक्रवारलाई विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप संचालन बारका रुपमा ब्यवस्थित गर्ने जानकारी दिनुभयो ।
यसैगरी भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ मा विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । नगरले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न नगर भित्र चार्जिङ स्टेशन स्थापना गर्नलागेको नीति तथा कार्यक्रममा उल्लेख छ । नीजि क्षेत्रसँगको साझेदारीमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न चार्जिङ स्टेशनको निर्माण गर्न लागिएको उहाँको भनाई रहेको छ । यस्तै केन्द्र सरकारका विभिन्न निकायको समन्वयमा नगरमा शौर्य पार्क निर्माण गर्ने तथा तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माणकार्यमा नगरले समन्वयात्मक भूमिका खेल्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नगरभित्र निर्माणाधिन कभर्डहल, भीमेश्वर रंगशाला, थामी संग्रहालय जस्ता ठूला आयोजनाहरु पनि आब २०८०–८१ मा सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने उप्रमुख बस्नेतले बताउनु भयो । ३० वर्ष अवधिकालागि कृषि फम संचालन गर्ने युवाहरुलाई लागतको २५ प्रतिशतसम्म अनुदान दिने ब्यवस्था मिलाईने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै कछुवाको गतिमा आगाडि बढिरहेको चरिकोट बजारमा निर्माणाधिन ढल ब्यवस्थापनको कार्यलाई आर्थिक वर्ष २०८०–८१ मा पूर्णता प्रदान गरिने उपप्रमुख बस्नेतले बताउनुभयो । साथै भीमेश्वर नगरपालिका वडा नम्बर एकको राङराङथली क्षेत्रलाई सुनाखरी संरक्षण क्ष्ोत्र घोषित गरी सुनाखरीको संरक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरको आमदानी बृद्धि गर्नकालागि करका दरमा बृद्धि गरिने बताइएको छ । नगरसभाको बैठक भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको अध्यक्षतामा बसेको थियो । असार १० गते बस्ने नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०–८१ को अनुमानित आय–ब्ययको विवरण(बजेट) पेश गरिने कार्य सूचि रहेको भीमेश्वर नगरपालिकाले बताएको छ ।

Shares

Be the first to comment on "शुक्रवारलाई अतिरिक्त क्रियाकलाप संचालन बारका रुपमा ब्यवस्थित गरिने"

Leave a comment

Your email address will not be published.


*