लामाबगर सुरुङमार्गमा चल्न थाले सवारी साधन

चरिकोट(दीस)ः निजि क्षेत्रद्वारा निर्माण गरिएको लामावगर सुरुङ मार्गमा सवारी सधन चल्न थालेका छन् । सरकारले आर्थिक लाभ नहुने भनी निर्माणमा चासो नदिएको सुरुङ मार्गको निजि क्षेत्रले निर्माण गरेसँगै यो सुरुङ हुँदै मालवाहक सवारी साधन चल्न थालेका हुन् ।दोलखाको विगू गाउँपालिकाको वडा नं. १ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजि क्षेत्रले निर्माण गरेको सुरुङमार्ग बाट टूयाक्टर जस्ता मालवाहक सवारी साधन चल्न थालेको लामावगरका स्थानीयहरुले बताएका छन् । तीन महिनाअघि खुलेको सुरुङमार्गमा को लम्बाई एघार सय मिटर रहेको छ । यो सुरुङमार्ग अहिलेसम्मकै नेपालको सबैभन्दा लामो सुरुङमार्ग पनि हो । सुरुङ मार्गको ६ मिटर उचाइ र ७ मिटर गोलाइ रहेको छ । यसअघि लामाबगरसम्म पुग्ने सडक भूकम्पले क्षति भएपछि काब्रेभीरमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले ३४० मिटर सुरुङमार्ग निर्माण गरेको थियो । लामावगर पुग्न यही सुरुङ मार्ग प्रयोग गर्नु पर्दछ । नासा हाइडूोपावर कम्पनीले बनाउन प्रस्ताव गरेको लप्ची खोला जलविद्युत आयोजनाले लामाबगर सुरुङमार्ग निर्माण सुरु गरेको हो । नासाले लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणको तयारी गरेको छ । अहिले सुरुङमार्गको मुखबाट पाँच सय मिटर टाढासम्म यातायात संचालन हुन सक्ने अवस्था छ । त्यसपछिको माथिल्लो भेगका अत्यन्तै कठिन भीर सानो देउराली, अंगेरी खोला र हुरहुरे नजिक सडकको ट्रयाक खोल्ने काम जारी रहेको एमभी दुगड ग्रुपअन्तर्गतका सुमो कन्ट्रक्सनका अधिकृत हेमराज तामाङले जानकारी दिनुभयो । लामाबगरबाट २० किलोमिटर उत्तरमा आयोजनको हेडबक्स रहेको छ । हेडबक्ससम्म पुग्न पहुँचमार्गको रूपमा यही सुरुङमार्ग आवश्यक भएकाले स्वदेशी जनशक्ति र सीपबाटै सुरुङमार्ग निर्माण गरेको हो । लामाबगरको सुरुमै कठिन भीर भएकाले हेलिकप्टरमार्फत् स्काभेटर र तेल लुम्नाङ र थाम्चेम्बुमा पु¥याएर हेडबक्स र आयोजनास्थलमा १२ किलोमिटर सडक ट्रयाक खोलिएको छ । लुम्नाङ र लप्ची दोलखाका हिमालपारिका गाउँहरु हुन् । अहिले गाउँमा ट्याक्टर पुगेपछि अब लप्चीसम्म पनि सडक पुुग्ला भन्ने आश स्थानीय वासिन्दा कोन्जोक शेर्पा को छ । आयोजनाले सडक निर्माण गरेपछि स्थानीयले सहज महसुस गरेका छन् । अझै पनि भीरबाट सडक छिचोल्नु चुनौतीपूर्ण छ । लामाबगरपछि चार किलोमिटर अगाडि हुरहुरे भीरमा पनि ६ सय मिटरको अर्को सुरुङमार्ग बनाउने आयोजनाको तयारी छ । लप्चीसम्मको कठिन क्षेत्रमा जलविद्युत आयोजनाले आफैले सडक निर्माण गरिरहेको छ ।

Shares

Be the first to comment on "लामाबगर सुरुङमार्गमा चल्न थाले सवारी साधन"

Leave a comment

Your email address will not be published.


*