चरिकोटमा नागरिकका घरको फोहोर उठेपनि सार्वजनिक स्थलको फोहोर उठेन

चरिकोट(दीस) ः भीमेश्वर नगरमा नागरिकको घरमा रहेको फोहोर नियमित उठेतापनि सार्वजनिक स्थलको फोहोर उठ्न नसकेको स्थानीयले गुनासो गरेका छन् । भीमेश्वर नगरको मुटु सातदोवाटो क्षेत्र नयाँ बस पार्क लगायतका सार्वजनिक स्थलहरुमा विगत लामो समयदेखि फोहोर नउठेपछि स्थानीयहरुले सो गुनासो गरेका हुन् ।
भीमेश्वर नगरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु सवारी साधनबाट ओर्लने वित्तिकै सातदोवाटो लगायतका क्षेत्रमामा यत्रतत्र नउठाइएको फोहोर देख्दा उनीहरुमा दोलखाप्रतिनै नकारात्मक भवाना आउने स्थानीय होटल ब्यावसायीहरुको भनाई छ । बल्ल तल्न बामे सर्न खोज्दै गरेको चरिकोटको होटल ब्यावसायलाई सार्वजनिक स्थलमा रहेको फोहोरले नकारात्मक असर पु¥याउने डर आफूहरुलाई रहेको उनीहरुले बताउनुभयो । आकाशबाट पानी पर्नासाथ ठूलो भल आउने गरेकोे तथा सो भलसँगै प्लास्टीक जन्य फोहोर तथा अन्य फोहोरहरु सातदोबाटो देखि बगेर आउँदा नयाँ बसपार्क क्षेत्रको हरिविजोग भएको नयाँ बसपार्क क्षेत्रकी स्थानीय सुमित्रा भण्डारीको दुःखेसो छ । फोहोरको ब्यवस्थापन तर्फ नगरले चासो नदिएकोले यस्तो समस्या आएको भण्डारीको भनाई रहेको छ ।
प्लास्टीक जन्य तथा अन्य फोहोरको डुँगुर सार्वजनिक सडकमा हुँदापनि ब्यवस्थापन गर्न चासो नदिने नगरपालिकाको कार्य क्षमतामाथि नैं प्रश्न उठेको दोलखा चेम्बरका उपाध्यक्ष रुद्रजंग बुढाथोकीले बताउनु भयो ।
कोरोना पछि उठ्न कोषिस गरिरहेको दोलखाको पर्यटन ब्यावसायलाई नै असर पर्ने फोहोर ब्यवस्थापनमा नै नगरले लापरवाही गरिरहेको उहाँको भनाई छ । “ नागरिकले पोको पारेर दिएको फोहोर उठाउने तर सार्वजनिक स्थलको फोहोर नउठाउने ? ” बुढाथोकीले भन्नु भयो,“ अब हामी फोहोर उठाउन सक्दैनौ भनेर नगरले बक्तब्य सार्वजनिक गर्न मात्र बाँकी छ ।”
नगरको सार्वजनिक स्थलको फोहोर नउठेको भन्ने विषयमा भीमेश्वर नगरपालिकाको नगरस्तरीय सरसफाई समितिका सदस्य सचिव ज्ञानु खड्कासँग प्रश्न गर्दा केही दिन देखि नगरको फोहोर उठाउने ट्रकका चालक विरामी भएको कारण सवै सवारी साधन चल्न नसकेको कारण नगरको सबै ठाउँको फोहोर उठन नसकेको बताउनु भयो । आइतवार बाट सबै फोहोर उठाउने साधनहरु पूर्ण रुपमा संचालनमा आएकोले एक –दुई दिनमा नगरको सार्वजनिक स्थलका फोहोर उठ्ने उहाँको दावी छ । भीमेश्वर नगरको फोहोर उठाउन चालु आर्थिक वर्षमा निजी कम्पनीलाई जिम्मा लागाइएको भएतापनि काम गर्न नसकेको भन्दै सम्झौता तोडेपछि अहिले भीमेश्वर नगरपलिका आफैले फोहोर ब्यवस्थापन गर्दै आएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा नागरिकका घरको फोहोर उठेपनि सार्वजनिक स्थलको फोहोर उठेन"

Leave a comment

Your email address will not be published.


*