दोलखाका स्थानीय तहहरुको औषत बेरुजु करिब ४ प्रतिशत

नवराज शिवाकोटी, चरिकोट ः दोलखाका स्थानीय तहहरुको औषत बेरुजु करिब चार प्रतिशत रहेको पाइएको छ । महालेखा परीक्षकले गरेको आर्थिक वर्ष २०७८–७९ को अन्तिम लेखा परीक्षणमा ३ दशमलब ९ प्रतिशत रकम बेरुजु रहेको पाइएको हो ।
महालेखा परीक्षकले हालै राष्ट्रपति समक्ष पेश गरेको महालेखा परीक्षकको साठीऔँ प्रतिवेदन अनुसार लेखापरीक्षण गरिएको रकमको प्रतिशतका हिसावले हेर्दा भने जिरी नगरपालिकाको बेरुजु सबै भन्दा बढी प्रतिशत रहेको छ । जिरी नगर पालिकाको बेरुजु ४ दशमलब ७८ प्रतिशत रहेको छ भने बैतेश्वरको सबैभन्दा कम २ दशमलब ६९ प्रतिशत रहेको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा शैलुङ गाउँपालिकाको ३ दशमलब ०५, गौरीशंकर ३ दशमलब ७७ तथा मेलुङको ३ दशमलब ७८ प्रतिशत बेरुजु रहेको पाइएको छ । यस्तै भीमेश्वर नगरपालिकाको ३ दशमलब ९२, कालिञ्चोक गाउँपालिकाको ४ दशमलब ३६ , तामाकोसी ४ दशमलब २ तथा विगु गाउँपालिकाको ४ दशमलब ८५ प्रतिशत बेरुजु देखिएको छ । जिल्लाका सबै स्थानीय तहको औषत बेरुजु ३ दशमलब ९ प्रतिशत हुन आउँछ ।
यसै गरी जल्लाका स्थानीय तहहरु मध्ये रकमका हिसावले सबै भन्दा बढी बेरुजु भीमेश्वर नगरपालिकाको रहेको छ भने सबै भन्दा कम बैतेश्वर गाउँपालिकाको रहेको छ । प्रतिवेदन अनुसार भीमेश्वर नगरपालिकाको बेरुजु रकम ८ करोड ५९ लाख ७८ हजार रुपैयाँ रहेको छ भने बैतेश्वर गाउँपालिकाको ३ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
जिल्लाका अन्य स्थानीय तहहरुमा जिरी नगरपालिकाको ५ करोड ६१ लाख ४० हजार, विगु गाउँपालिकाको ५ करोड ४२ लाख १ हजार, र कालिञ्चोक गाउँपालिको ६ करोड ३८ लाख ८१ हजार रुपैयाँ बेरुजु रकम रहेको पाइएको छ । यस्तै तामाकोसी गाउँपालिकाको ६ करोड ३८ लाख ८१ हजार, गौरीशङ्कर गाउँपालिकाको ४ करोड ७५ लाख ३६ हजार, शैलुङ गाउँपालिकाको ३ करोड ५८ लाख ८ हजार र मेलुङ गाउँपालिकाको ४ करोड २५ लाख ६६ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको तथ्याङ्क छ । जम्मा नौ वटा स्थानीय तहरहेको दोलखामा कुल ४८ करोड ४६ लाख १८ हजार रकम बेरुजु रहेको हालै महालेखा परीक्षकले राष्टूपति समक्ष पेश गरेको महालेखा परीक्षको साठीऔं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

Shares

Be the first to comment on "दोलखाका स्थानीय तहहरुको औषत बेरुजु करिब ४ प्रतिशत"

Leave a comment

Your email address will not be published.


*