दोलखाका शिव मन्दिरहरुमा दर्शनार्थीको भीड

दीक्षण समाचार
चरिकोट, फागुन ६
हिन्दु धर्मावलम्बीहरुको महान् पर्व शिवरात्रिको अवसरमा दोलखाका शिव मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । शनिबार बिहानैदेखि शिवको श्रद्धापूर्वक भक्तिआराधना गर्न शिवालय मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । सदरमुकाम चरिकोटको पशुपति मन्दिर, कोटिहोम, दोलखाको भीमशेन, जिलुको जलेश्वर महादेव, घ्याङको गाईखुरा महादेव लगायतका शिव मन्दिरहरुमा शिवरात्रीको अवसरमा भक्तजनको घुँइचो लागेको छ । पुजाआराधानाका लागि मन्दिर पुगेका दर्शनार्थीहरुले मन्दिरमा भजन कीर्तन गरी नाचगान समेत गरिरहेका छन् । मेलुङ गाउँपालिका घ्याङमा अवस्थित गाईखुरा महादेव मन्दिर बिहानैदेखि दर्शनार्थीले भरिएको स्थानीय रमेश भण्डारीले जानकारी दिनु भयो । उहाँका अनुसार मन्दिरमा अरुबेलाको भन्दा शिवरात्रिको दिनमा बढी दर्शनार्थी आएका छन् । मन्दिरमा बालबालिकादेखि वृद्धवृद्धाले शिवको भक्तिआराधना गरिरहेका छन् ।
महाशिवरात्रि पर्वका दिन पूजाअर्चना गरी व्रत बस्ने, रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो तथा बेलपत्र चढाउने मान्यता रहेको छ । महाशिवरात्रिमा शिवको पूजा, आराधना गरेमा मनोकांक्षा पूरा हुने तथा सुख, शान्ति तथा मृत्युपछि पनि सद्गति प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

Shares

Be the first to comment on "दोलखाका शिव मन्दिरहरुमा दर्शनार्थीको भीड"

Leave a comment

Your email address will not be published.


*