जनज्योति माविको दुई वटा भवन निर्माण

दीक्षण समाचार
चरिकोट, पुस २६
दोलखाको कालिञ्चोक गाउँपालिका–६ लेप्टुङ स्थित जनज्योति माविको नवनिर्मित भवनको सोमबार एक समारोहका बिच हस्तान्तरण तथा उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले विद्यालय व्यवस्थापन समितिलाई नवनिर्मित भवन हस्तान्तरण गरी उद्घाटन गर्नु भएको हो । सो क्रममा उहाँले विद्यालय भवन निर्माण भएसगैँ पठनपाठनमा सहज हुने र विद्यालयबाट गुणस्तरीय शिक्षा आदानप्रदान गर्न सकिने बताउनु भयो । विद्यालयले समयसापेक्ष शिक्षण सिकाई प्रक्रियाको अबलम्बन गरी दक्ष जनशक्ति तयार गर्न अग्रणी भूमिका निर्वाह गर्नु पर्ने जिसस प्रमुख घतानीको भनाई थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले पालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न योजनाबद्ध कार्यहरु सञ्चालन र सम्पादन गरिरहेको बताउनु भयो । शिक्षामा राम्रो नतिजा ल्याउने वातावरण निर्माणमा पालिका सक्रिय भईरहेको उहाँको भनाई छ । उहाँले चिटिक्क र सुन्दर विद्यालयमा विद्यार्थीहरुको भविष्य पनि सुन्दर बन्नु पर्नेमा जोड दिनु भयो ।
एसियाली विकास बैँक (एडिबी)को ७४ दशमलब ९३ प्रतिशत ऋण र ७ दशमलब ६ प्रतिशत अनुदान सहयोग र नेपाल सरकारको १७ दशमलव ६० प्रतिशत अनुदानमा विद्यालयको दुई वटा भवन निर्माण सम्पन्न भएको हो । विद्यालयका प्रधानाध्याक गणेशबहादुर कार्कीले सात करोड ४५ लाख ७५ हजार ६ सय १० रुपैँयामा नौ–नौ कोठाको तीन तल्ले दुई वटा भवन निर्माण भएको बताउनु भयो । भवनसँगै छात्राछात्रमैत्री शौचालय र धारा निर्माण सम्पन्न भएको छ ।
२०७७ माघ १६ गते खानी समानान्तर जेभी काठमाडौँले जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) सँग सम्झौता गरी भवन निर्माण सुरु गरेको थियो । प्रधानाध्यापक कार्कीका अनुसार नवनिर्मित भवनमा कक्षाकोठासहित शिक्षक कक्ष, पुस्तकालय, विज्ञान, सूचना र प्रविधि प्रयोगशालाको व्यवस्था गरिएको छ । २०७२ को विनाशकारी भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेको थियो । भवन अभावले पठनपाठनमा असहजता भइरहेको बेला सुविधासम्पन्न नयाँ भवन निर्माण भएपछि पठनपाठन सहज हुने उहाँको भनाई छ । दक्ष तथा अनुभवि शिक्षकद्धारा अध्यापन गराइने, बेलाबेलामा कक्षा टेष्ट, युनिट टेष्ट र आवश्यक पृष्ठपोषण गरिने र समयसमयमा खेलकुद, मनोरञ्जन, अतिरिक्त क्रियाकलापहरु र शैक्षिक भ्रमण सञ्चालन गरिने हुँदा विद्यालयको शैक्षिक उपलब्धि स्तरोन्नती हुन थालेको प्रधानाध्यापक कार्कीले बताउनु भयो ।

Shares

Be the first to comment on "जनज्योति माविको दुई वटा भवन निर्माण"

Leave a comment

Your email address will not be published.


*