तीन स्थानीय तहमा मात्र आफ्नै प्रहरी

ईश्वर विश्वकर्मा, चरिकोट ः नौ स्थानीय तह रहेको दोलखामा तीन स्थानीय तहमा मात्र गाउँ तथा नगर प्रहरी रहेका छन् । जिल्लाको भीमेश्वर, जिरी नगरपालिका र विगु गाउँपालिकाले शान्तिसुरक्षा तथा बजार व्यवस्थापनका लागि गाउँ तथा नगर प्रहरी भर्ती गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन र नेपालको संविधान, २०७२ को अनुसूची ८ मा उल्लेखित अधिकारको प्रयोग गर्दै पालिकाहरुले नगर तथा गाउँ प्रहरी भर्ना गरेका हुन् । जिरी नगरपालिकामा २०७६ देखि दुई जना र विगु गाउँपालिकामा २०७८ देखि दुई जना प्रहरी भर्ना गरिएको ती पालिकाहरुले जनाएका छन् । भीमेश्वर नगरपालिकामा पाँच जना नगर प्रहरीहरु परिचालित छन् । जिरी नगरपालिकाका प्रमुख कृष्णमाया बुढाथोकीले नगर प्रहरीको सक्रीयता र सहयोगका कारण कार्यालयको शान्तिसुरक्षा तथा कार्य सम्पादनमा सहज भएको बताउनु भयो । विगु गाउँपालिकाका उपाध्यक्ष देविका थामीले पालिकाको आफ्नै प्रहरी भएपछि बजार व्यवस्थापनमा सहयोग पुगेको बताउनु भयो । स्रोतसाधनले भ्याए आवश्यकता अनुसार थप गाउँ प्रहरी भर्ना गर्न सकिने उहाँको भनाई छ । गाउँ तथा नगर प्रहरीहरुले न्यायिक समितिलाई सहयोग, बजार अनुगमन तथा व्यवस्थापन, सावर्जनिक सम्पत्ती तथा कार्यालय सुरक्षा लगायत तोकिएको कार्य गर्ने व्यवस्था छ । तीन स्थानीय तहहरुले गाउँ तथा नगर प्रहरी भर्ना गरे पनि ६ स्थानीय तहहरुले भने भर्ना गरेका छैनन् ।

Shares

Be the first to comment on "तीन स्थानीय तहमा मात्र आफ्नै प्रहरी"

Leave a comment

Your email address will not be published.


*