दोलखामा बदर मत घट्ने अपेक्षा

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर १
दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मतदान प्रक्रिया बारे अनभिज्ञ मतदातालाई लक्षित गरी कार्तिक १८ गते देखि सञ्चालन गरिएको सो कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले निर्वाचन आएको बेला मतदाता शिक्षा अभावमा अन्योलमा रहेका मतदाताहरुलाई शिक्षा दिन सञ्चालन गरिएको सो कार्यक्रम प्रभावकारी भएको दाबी गर्नु भयो । कार्यक्रम प्रभावकारी भएकोले विगतमा जस्तो धेरै मत बदर नहुने अपेक्षा गरिएको उहाँले सुनाउनु भयो । “नमूना मतपपत्र सहितका प्रचार सामग्री बोकेर सहजकर्ताले समुदायस्तरमा मतदाता शिक्षा गरेका छन् । पालिका स्तरमा नमूना मतदान अभ्यास गरिएको छ ।” उहाँले भन्नुभयो “यो कार्यक्रम लक्षित मतदाताका लागि प्रभावकारी र लाभदायी भएको छ । यसले लक्ष्य अनुसार मत बदर घटाउने अपेक्षा हाम्रो छ ।” उहाँले बदर मत बढ्दा निर्वाचन परिणाममै प्रभाव पर्ने भएकोले बदर मत घटाउन मतदातालाई शिक्षा दिइएको बताउनु भयो ।
“विगतका निर्वाचनमा जस्तो निर्वाचन शिक्षाको कमीले बदर मत बढी नहोस्, भनेर उक्त शिक्षा टोलटोल घरघरमा सञ्चालन गरिएको हो ।” उहाँले भन्नुभयो । “यो कार्यक्रमको प्रभावले निर्वाचनको बेला मतदाताहरु मतदान गर्न नजानेर अलमलिने छैनन् ।” कार्यक्रमा मतदान केन्द्रमा प्रवेश गर्ने, मतपत्रमा छाप लगाउने, बदर मत नहुने गरी स्वस्तिक छाप लगाउने र सुरक्षित साथ मतपेटिकामा खसालेर बाहिरिने तरिका बारे जानकारी दिइएको थियो । कार्यक्रमको अनुगमन गर्न प्रत्येक पालिकामा एक जना संयोजकको व्यवस्था गरिएको थियो । संयोजकहरुले दिएको जानकारी अनुसार जिल्लाको प्रत्येक घरमा सहजकर्ता पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थिए ।

Shares

Be the first to comment on "दोलखामा बदर मत घट्ने अपेक्षा"

Leave a comment

Your email address will not be published.


*