महिलाले प्रवेश गर्न नहुने मान्यता रहेको महाँकाल भगवती मन्दिर

बाबुराम शर्मा चरिकोटः भीमेश्वर नगरपालिका वडा नम्बर पाँचमा रहेको पवित्र महाँकाल भगवतीको मन्दिरमा महिलाहरुलाई प्रवेश वर्जित छ । परापूर्व कालदेखिनैं महिलाले मन्दिरभित्र प्रवेश गर्न नहुने प्रचलन रहिआएकाले महिलालाई मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको हो ।
प।ैराणिक कालदेखि नै महिलालाई प्रवेश निषेध गरिएको परमपराका कारण अहिले पनि महिलालाई प्रबेश निषेध रहेको मन्दिरका पूजारी सुजन बोहोराले बताउनु भयो ।
महाँकाल भगवतीले परेवा र पाठीको कलेजो र फोक्सो मात्र भोग खाने गरेको धार्मिक विश्वासका कारण महिला भित्र प्रवेश गरेमा अनिष्ट हुने र आँखासमेत बन्द हुने गमान्यता रहेको उहाँको भनाई छ ।
मन्दिरमा आएका भक्तजनले पूजागरी यहाँको जल खाएको खण्डमा शरीरमा भएका धेरै रोग निको हुने तथा दर्शनबाट मोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । चितवन, दैलेख, भोजपुर, सर्लाही, जनकपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछापलगायतका स्थानबाट भक्तजन सुविधा सम्पन्न अस्पतालमा उपचार गरे पनि रोग निको नभएपछि पाठी र परेवाको भाकल गरी यहाँ पूजाआजा गर्न आउने गरेका पुजारी बोहोराको अनुभव छ
मन्दिरको अगाडिपट्टि ८४ वटा महादेवको मूर्ति स्थापना गरिएको छ । ८४ वर्ष पुगेका दोलखा, रामेछाप र सिन्धुपाल्चोक लगायतका ठाउँबाट भक्तजनहरु चौरासी गर्नका लागि पनि यहाँ आउने गरेका छन् । यहाँ पूजा गरेको परेवा र पाठीको मासु पौराणिक कालदेखि नै तोकिएको सिमानाबाहिर लैजान नहुने हुँदा भक्तजनलाई मासु पकाउन भाँडाकुँडाको व्यवस्थासमेत ब्यवस्थापनले गरेको छ ।
मन्दिरमा तीज तथा बालाचतुर्दशीमा मेला लाग्ने गर्दछ । यो दिन बेलुका बत्ती बाल्नका लागि छिमेकी जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन् । यहाँ मङ्गलबार र शनिबार विशेष पूजा हुने हुँदा भक्तजनको भीड लाग्ने गरेको छ ।
यातायातको सुविधा भएपछि गाडी लिएर मन्दिरमा आउने भक्तजनहरुको संख्या बढ्दै गएको छ । तर महिलाहरुको भने आफूहरूलाई पनि मन्दिर प्रवेशमा लाग्दै आएको रोक हटाउनुपर्ने माग रहेको छ ।

Shares

Be the first to comment on "महिलाले प्रवेश गर्न नहुने मान्यता रहेको महाँकाल भगवती मन्दिर"

Leave a comment

Your email address will not be published.


*