झ्याँकुमा रोकी राखेको बसमा आगजानी

दीक्षण समाचार
चरिकोट, कार्तिक २३
दोलखाको गौरीशंकर गाउँपालिकाको झ्याँकु साउनेमा रोकी राखेको बसमा मंगलबार राती आगजनी भएको छ । काठमाडौँ लैजाने सामान लोड गरी रोकी राखेको रोलवालिङ यातायातको बा ३ ख ५९७० नम्बरको बसमा राती अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट बस र सामान जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी नायब उपरीक्षक गंगा प्रसाद पौडेलले राती १० बजेतिर घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिंगटीको प्रहरी टोली घटनास्थलतिर हिँडेको भएपनि टोली पुग्दा बस पूर्ण रुपमा क्षतिग्रस्त भइसकेको बताउनु भयो । बस बैतेश्वर गाउँपालिका वडा नं. ८ का नवराज खड्काको रहेको थियो भने, बसमा काठमाडौँ बसाई सर्न लागेका दुई परिवारको सामान लोड गरिएको थियो । बस र बसमा लोड गरिएको सम्पूर्ण सामान जल्दा ५० लाख भन्दा बढी क्षति भएको प्र.ना.उ पौडेलले जानकारी दिनु भयो ।
नबराज खड्काले आफ्नो गाडीमा राती अज्ञात समुहले आगो लगाएको देखेर प्रहरीलाई खबर गर्नु भएको थियो । उहाँका अनुसार मंगलबार सिंगटीबाट झ्याँकु पुर्याइएको गाडी साउनेमा सामान लोड गरी बुधबार काठमाडौँ जान पार्किङमा राखिएको थियो । घटनाबारे थप अध्ययन गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "झ्याँकुमा रोकी राखेको बसमा आगजानी"

Leave a comment

Your email address will not be published.


*