दीक्षण समाचार
चरिकोट, असोज १०
फूलहरु फुल्न र मौसम खुल्न थाल्दा हिन्दु नेपालीको घरघरमा दशैँ आएको छ । परदेश गएकाहरू घरदेश फर्किन थालिसकेका छन् । गाउँदेखि शहरसम्म दशैँले छपक्क छोप्दा उल्लासमय वातावरण बनेको छ । यही अवसरमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुँदा दशैँ थप रोमाञ्चक बनिरहेको छ । वर्षभर ठप्प अवस्थामा रहेको खेलकुद क्षेत्र चलायमान हुन थालेको छ । दशैँको अवसरमा जिल्लाका विभिन्न स्थानमा स्थानीयस्तरीय देखि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुन थालेका छन् । जिल्ला सदरमुकाम चरिकोटमा मंगलबार अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुँदै छ । खेलकुद र पर्यटन क्षेत्रलाई चलायमान बनाउन दशैँ र विश्व पर्यटन दिवसको अवसरमा प्रतियोगिता हुन लागेको हो । बागमती खेलकुद समितिको आयोजनामा र हिमालयन टाइगर प्रो. रेस्लिङ एशोसियसनको प्रस्तुतीमा हुने प्रतियोगितामा १८ बढी रेस्लरको भिडन्त हुने आयोजकले जनाएको छ ।
जिल्लाका विभिन्न वडाले वडास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै छन् । बैतेश्वर गाउँपालिका वडा नं. १ ले विजयादशमीको अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज १५ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी समुहलाई ५० हजार, द्धितीय हुनेलाई ३० हजार, तृतीय समूहलाई १५ हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्ला भित्रका सबै गाउँपालिकाको सबै वडाका समूहले सहभागि हुने पाइने बताइएको छ । खेल क्षेत्रबाट वडाको पहिचान फराकिलो पार्न प्रतियोगिता सञ्चालन गरिन लागिएको वडाध्यक्ष भीमबहादुर तामाङले सुनाउनु भयो ।
यस्तै बैतेश्वर गाउँपालिका वडा नं. ७ को आयोजनामा असोज १५ र १६ गते वडा स्तरीय मार्बु रनिङ शिल्ड भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा विजेता टोलीले २० हजार, उपविजेताले १५ हजार, तृतीय हुनेले १० हजार, सान्त्वना टोलीले ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पाउने व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सर्भिसरलाई समेत पुरस्कार वितरण गरिने बताइएको छ ।
प्रतियोगितामा वडा भित्रका खेलाडी समूह सहभागी हुन पाइने आयोजकले जनाएको छ । गौरीशंकर गाउँपालिका वडा नं. ६ ले प्रथम वडाध्यक्ष कप खुल्ला पुरुष भलिबल तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । चंखु स्थित जयन्तीपुर माविको खेलमैदानमा दुई सञ्चालन हुने खेल असाज १६ देखि सुरु हुने छ । प्रतियोगितामा भलिबल प्रतियोगिताका विजेता समुहले १० हजार, दोस्रो हुनेले ६ हजार, तेस्रो हुनेले ३ हजार र चौथो हुनेले १ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । नृत्य प्रतियोगिताका विजयीलाई पनि नगद सहित मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । वडाध्यक्ष निमासांगे शेर्पाले दशैँ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै मनोरञ्जन र युवा प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
दशैँको अवसरमा खेलकुद प्रतियोगिताले गाउँ देखि बजारमा एक प्रकारको माहोल थपेको छ । हुन त दशैँमा चङ्गा उडाउने, पिङ खेल्ने लगायतबाट मनोरञ्जन लिने चलन छ । अब यो सगैँ गाउँटोलमा दशैँको बेला खेलकुद प्रतियोगिता हुनु पनि संस्कृतिको रुपमा स्थापित हुदैँ गएको पाइएको छ ।
Be the first to comment on "दोलखामा खेलकुद प्रतियोगिताले दशैँ थप उल्लासमय हुँदै"